काठमांडौ, माघ २१ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै किड्नी ट्रान्सप्लान्ट गर्न लागेको संचारमाध्यमलाई बताएका छन्। मंगलबार साँझ बालुवाटारमा सम्पादकहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्ने जानकारी दिएका हुन्। डायलासिस गरिरहनुभन्दा ट्रान्सप्लान्ट गर्दा नै बलियो हुने भएकाले मिर्गौला प्रत्यारोपण गर्न लागेको उनको भनाइ छ।
‘किन ट्रान्सप्लान्ट गर्ने भनेर सोध्नुहोला। अझै बलियो भएर तीन वर्ष सरकार चलाउन र काम गर्नका लागि हो,’ प्रधानमन्त्रीले भने। १२ वर्षअघि ट्रान्सप्लान्ट गरिएको मिर्गौलाले काम गर्न छोडेपछि पछिल्ला केही महिनादेखि प्रधानमन्त्री ओली नियमित डायलासिस गरिरहेका छन्। अबको तीन वर्ष आफू नै प्रधानमन्त्री हुनेमा ढुक्क हुन आग्रह उनले गरे।
‘सरकार केही तलमाथि हुँदैन। मेरै नेतृत्वमा काम गर्छ। साथीहरूले त्यसको चिन्ता नलिनु भए हुन्छ,’ ओलीले भने। उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै प्रस्तावअनुसार पहिलाको आलोपालो प्रधानमन्त्री हुने सहमति छोडेर पाँच वर्ष आफू नै प्रधानमन्त्री हुने निर्णय गरेको बताए।
‘प्रचण्डजीकै प्रस्तावमा पाँच वर्ष मेरो नेतृत्वमा सरकार चलाउने निर्णय गरेका हौं,’ प्रधानमन्त्रीले भने, ‘पार्टीभित्र हुने छलफल, बहस वा स-साना असहमतिलाई अन्यथा लिनुहुन्न।’ उनले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अहिलेसम्म एकतावद्ध भएर गएको र भविष्यमा एक हुने दाबी गरे।