आमहड्तालको प्रभाब: बन्दमा १८८ जना पक्राउ, ८६ गाडीमा तोडफोड

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  482 पटक हेरिएको

काठमाडौं, माघ २२ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना, उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको भएपनि प्रयाप्त संचालनमा आएन । राजधानी काठमाडौंमा ट्याक्सी र मोटरसाइकल लगायत साना सवारी सञ्चालन भए पनि ठूला लामो दुरीको सवारी भने सञ्चालन हुन सकेन । बजार, पसल भने दिनभर बन्द नै रह्यो ।

राजधानीबाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुलनामा झन्डै ४५ प्रतिशत सवारी सञ्चालन भएको जानकारी दिए । धेरै जिल्लाबाट सुरक्षा सतर्कताका साथ ढुवानी र यात्रीवाहक सवारी काठमाडौं भित्रिएका प्रहरीले जनाएको छ ।

बन्दका क्रममा सवारी सञ्चालन गरेको भन्दै बन्दकर्ताले काठमाडौंको सामाखुसीमा आज बिहानै एउटा ट्याक्सीमा आगजनी गरेका थिए । प्रहरीका अनुसार मुलुकभर गरेर एउटा गाडीमा आगजनी गरिएको र ८६ वटा गाडीमा तोडफोड भएको छ । त्यसमध्ये तीनवटा सरकारी गाडी रहेको प्रहरीले जनाएको छ ।

प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ व्यक्ति पक्राउ परेका र छानबिनपछि ४० जनालाई छाडिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए । अन्यको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाएको भन्दै निर्वाध रुपमा सवारी तथा उद्योग, व्यवसाय सञ्चालन गर्न सर्वसाधारणमा अनुरोध गरेको थियो । नागरिकको संविधानप्रदत्त हकको निर्वाध उपयोग गर्न पाउने अधिकारको सम्मान गर्न पनि सम्बद्ध पक्षसँग अनुरोध गरिएको थियो ।

गृह मन्त्रालयले शान्ति–सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायत अवाञ्छित गतिविधिमा संलग्न हुनेविरुद्ध कानुनी कारबाही गरिने जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार