चितवन, माघ १७ ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर सिटी हल र गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तारको आज शिलान्यास गरेका छन्। संघीय सरकारको बजेटमा भरतपुर–१० स्थित जिल्ला समन्वय समिति चितवनको कार्यालय पछाडीको ४ बिघा ४ कठ्ठामा अन्तर्राष्ट्रिय स्तरको सिटी हल निर्माण र ६ लेनको सडक विस्तारको काम भइरहेको छ।
शिलान्यास कार्यक्रममा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, र शहरी विकास मन्त्री प्रभु साह चितवन आएका छन्। शिलान्यासपछि केन्द्रिय बसपार्कमा आयोजित नेकपाको जनसभालाई ओलीले सम्बोधन गरेका थिए। दुई आयोजनाको शिलान्यास कार्यक्रममा भरतपुर महानगरपालिकाले भने सहभागिता जनाएन।
नेकपाभित्रको आन्तरिक किचलोका कारण प्रचण्ड पुत्री रेणु दाहाल मेयर रहेको भरतपुर महानगरले सहभागिता नजनाएको हो। आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली चितवन आउने तय भएपछि नेकपा प्रचण्ड–माधव समूहले केही दिनदेखि विरोध जनाएको थियो।
दुवै आयोजना निर्माणको ठेक्का इण्डो–सगुन–रौताहा जेभीले पाएको छ। प्रधानमन्त्री ओलीले शिलान्यास गरेको सिटी हलको ०७७ मंसिर १८ गते सम्झौता भएर निर्माणको काम भइरहेको छ। २७ महिनामा निर्माण सम्पन्न गर्नेगरी ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँ लागतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको हो। सिटी हल निर्माण गर्न यस आर्थिक वर्ष ०७७(७८ को लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। सिटी हलको अहिले पीसीसी ढलान सकेर पिलर उठाउने काम भइरहेको छ।
सिटी हल निर्माण गर्न दैनिक एक सय बढी कामदार खटाइएको इण्डो–सगुन–रौताहा जेभीका इन्जिनियर प्रविन यादवले बताए। कामगर्ने क्रममा कुनै अवरोध नआए दुई वर्षभित्रै निर्माण कार्य सम्पन्न गरिने उनको भनाइ छ।
अन्तर्राष्ट्रियस्तरको बन्ने भनिएको आधुनिक सिटी हल २ हजार जना मानिस अट्न सक्ने क्षमताको हुने सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले बताए। त्यसको साथमा तीन सय क्षमताको सानो हल र किचन, भण्डारण लगायतका कक्षहरु हुने उनले बताए। सिटी हलमा पर्याप्त पार्किङको व्यवस्था हुने उनले बताए। सिटी हलमा ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ।