सुर्खेतमा भोलि बिहान ६ बजेसम्मका लागि ‘कर्फ्यु’ जारी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  909 पटक हेरिएको

सुर्खेत, माघ १४ ।

वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा एकजनाको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्ररूप लिएपछि जिल्ला प्रशसन कार्यालय सुर्खेतले ‘कर्फ्यु’ जारी गरेको छ। सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६:३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो। सुरक्षा बैठकपछि कर्फ्यु लगाउन निर्णय भएको हो।

सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको  पाँच सय मिटर सम्मको दूरीमा कर्फ्यु जारी गरिएको छ। कर्फ्युको समयमा भेला हुन, अन्य काम गर्न र हिँडडुल गर्नसमेत बन्देज लगाइएको छ। कर्फ्यु तोडेमा गोलीसमेत हान्न सक्ने चेतावनी समेत दिइएको छ।

यसबीच मृतकका आफन्तले चलाएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ। कालीकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्ररूप लिँदा प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ। साथै अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए।

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत आठजना घाइते भएक प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको कर्फ्यु:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार