निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई बिबादबारे छलफलका लागि बोलायो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  346 पटक हेरिएको

काठमाडौं, माघ १५ ।

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै समूहलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार शुक्रबार नेकपाका दुई समूहका अध्यक्षदयलाई पत्र काटी छलफलका लागि बोलाइएको हो । अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलका लागि पाँच/पाँच जनालाई आउन भनिएको श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड/नेपाल गरी दुई वटा समूह क्रियाशील छन् । यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन् । प्रतिनिधिसभा विघटन गरी सरकारले वैशाख १७ र २७ मा निर्वाचनको मिति घोषणा गरिसकेको छ । तर प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ। दुबै समुहले सुर्य चुनाब चिन्ह आफ्नो भएको दाबि गर्दै आएको छ । तर दुई पक्ष बिच सहमति नभएमा चुनाब चिन्ह सुर्य फ्रिज हुने निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार