काठमाण्डौँ, माघ १२ ।
सर्वोच्च अदालतमा नेकपाका नेता तथा सभामुखका उम्मेद्धार अग्नि सापकोटा बिरद्ध केही दिन अगाडी मुद्दा दर्ता भएको थियो । उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ नगर्ने भएको छ ।
सर्वोच्चको न्यायाधीश हुनुअघि फुयाँलले सापकोटाविरुद्धकै अर्को मुद्दामा बहस गरेका कारण उनले रिटमाथिको सुनुवाइ नगर्ने बताएको सर्वोच्च स्रोतले जनाएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख नबनाउन माग गर्दै शुक्रवार सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले त्रिपाठीको रिट निवेदन सुनुवाइ गर्न फुयाँलको एकल इजलास तोकेको थियो । “उहाँ आफैंले रिटमाथि सुनुवाइ नगर्ने अडान लिनुभएको छ”, सर्वोच्च स्रोतले भन्यो ।
यस अघि सापकोटाविरुद्ध सुशील प्याकुरेलले दायर गरेको मुद्दामा न्यायाधीश फुयाँलले अधिवक्ताका रूपमा बहस गरेका थिए ।
सापकोटालाई सभामुख निर्वाचित गर्ने तयारी रोक्न माग गर्दै परेको रिटमा आइतवार सुनुवाइ नहुने भएपछि संसदलाई सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउन बाधा नपर्ने भएको छ । नेता सापकोटा बिरुद्ध माईतिघर मण्डलामा सभामुख बनाउन नहुने माग राख्दै आन्दोलन समेत भएको थियो यसको केही दिनमा नेकपाका अध्यक्ष प्रचण्डले माईतिघरमा आन्दोलन गर्नुको कुनै औचित्य नरहेको र कमरेड सापकोटा बिरुद्ध कुनै पनि मुद्दा नभएको जनाएको थियो ।
आइतवार अपराह्न ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सापकोटालाई निर्वाचित गर्ने कार्यसूची रहेको छ । सभामुखका लागि सापकोटाको एकमात्र उम्मेदवारी परेको थियो ।