

काठमाडौं, माघ ७।

मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं उपचारको लागि ल्याइएको छ । थाहा नगरपालिका(४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरलले नेपाल घुम्न आएका ४ पुरुष र ४ महिला होटलमा बेहोस भेटिएको जनाएको छ । प्रहरीका अनुसार, बेहोस सबैलाई उपचारका लागि काठमाडौंको हेम्स अस्पताल पठाइएको छ ।
नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए । प्रहरीका अनुसार, उनीहरू ग्यास हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने आशंका प्रहरीको छ । यद्यपि, यसको पुष्टि हुन बाँकी छ ।

