नेपाली सेनाका मेजर शाही सहित ८ जना जुवा खालबाट समातिए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  868 पटक हेरिएको

काठमाडौं, मंसिर, १५ । काठमाडौं प्रहरी परिसर, टेकुले नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीलाई पक्राउ गरेको छ ।

टोखामा प्रहरीले चलाएको जुवा अपरेशनका क्रममा शाही पक्राउ परेका हुन् । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बयान दिएको जनाइएको छ । शाहीसहित प्रहरीले थप ८ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा छन् ।

उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखी कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपीले बताए । उनीहरू म्यारिज खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रधानमन्त्रीको सुरक्षामा लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को नेतृत्वमा सैनिक टोली खटिएको हुन्छ । मेजर शाही शुक्रबार बिदामा थिए । बिदाको वेला उनी सधैँजसो जुवा खेल्ने गरेको अनुसन्धानमा खुलेको छ । शाहीलाई सैनिक प्रहरीलाई बुझाउने प्रहरी तयारी छ । कर्तव्य ज्यान, लागुऔषधलगायत केही गम्भीर किसिमका अपराधबाहेक अन्य अपराधमा संलग्न सैनिकलाई सेनाले नै आन्तरिक कारबाही तथा कैद सजाय गर्ने कानुनी व्यवस्था छ । 

यसअघि भाइटीकाको पूर्वसन्ध्यामा क्यासिनो किङका रुपमा परिचित बलराम सापकोटा बलेसहित २५ जुवाडेलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले पक्राउ गरी मुद्धा चलाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार