
बेलायत, साउन ३० ।

गैरआवासीय नेपाली संघ (एनआरएन) को १० औं महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशनका लागि एनआरएन अभियन्ताहरुले उम्मेदवारी घोषणा गर्दै आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन । यसै सन्दर्भमा बेलायत निवासी धादिङ्गका रामशरण सिम्खडाले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनको केन्द्रीय सदस्य तथा विधान संशोधन समितिको सहसंयोजक सिम्खडाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सिम्खडाले गैरआवासीय नेपाली संघमा सुधारका कामले गति लिएपनि अझै धेरै गर्न बाँकी रहेकाले संस्थागत स्थायित्व र विकासको लागि आफ्नो उम्मेदवारी रहने बताए । उनले संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उम्मेदवारी दिने निचोडमा पुगेको बताए । सक्रिय सामाजिक अभियन्ता उनी एनआरएन युकेका संस्थापन सदस्य समेत हुन् ।

धादिङमा जन्मिएका सिम्खडासँग १२ वर्ष अन्तराष्ट्रिय दातृसंस्थासँग काम गरेको अनुभव छ । उनले २७ सयभन्दा बढी संघसंस्था आबद्धता रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, बिभिन्न परोपकारी संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी समालिसकेका छन् । बेलायतमा सन् २००१ मा भित्रिएका सिम्खडाकै सकृयतामा सन् २००५ मा गैरआवासीय नेपाली संघको स्थापना भएको हो ।
उनले संघभित्र दुई कार्यकाल आइसीसी सदस्य, पटक पटक गरेर विधान समिति संशोधन समितिमा तीन पटक सदस्य र संघको परोपकार समितिमा सदस्य सचिव रहेर आफ्नो जिम्मेवारी सफतापूर्वक पूरा गरेका छन् । उनीले सन् २०११ को एनआरएनए युकेको निर्वाचमा भारी मतान्तरले महासचिव पदमा विजयी भएका थिए ।
बेलायतस्थित रेडिङ विश्वविधालयमा कार्यरत सिम्खडाले नेपालमा हाईड्रो, वैकिङ क्षेत्रमा समेत लगानी गरेका छन् । सिम्खडा एक अब्बल संगठक तथा संस्थाका अन्तरिक विषयमामिला दखल राख्ने एनआरएनए अभियानताका रुपमा परिचित छन् ।




543 पटक हेरिएको 
















