काठमाडौँ, असोज २६ ।
पछिल्लो समय काठमाण्डौँ उपत्यकामा कोरोना संक्रमणको दर उच्च देखिएको छ । त्यससँगै काठमाण्डौँमा रहेका बिभिन्न उच्च पदस्थ कर्मचारी देखि नेता कार्यकर्ता र मन्त्रिहरुमा समेत कोरोना संक्रमण देखिएको छ । पर्यटन मन्त्री योगेश भट्टराई संक्रमित भएको भोलिपल्ट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा हिजो कोरोना पुष्टी भएको थियो । आज भने मन्त्री पोखरेलको ज्वरो घटेको अस्पताल स्रोतले जनाएको छ ।
यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस अघि काँग्रेस नेताहरुमा कोरोना देखिएको थियो भने बालुवाटारमा प्रधानमन्त्रीका सल्लाहकार र सुरक्षाकर्मीमा समेत कोरोना देखिएको थियो ।