नेपाली ब्रिटिस गोर्खाहरुको आमरण अनसनप्रति ऐक्यवद्धता जनाउँदै ब्रिटिश भेट्रान्सहरुले गरे विशाल प्रदर्शन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  550 पटक हेरिएको

बेलायत, साउन ३० ।  

आन्दोलनरत भूतपूर्व गोर्खाहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्ताल जस्तो कठोर आन्दोलन शुरु गरेका छन् । १७ दिन रिले अनसन बसेपछि शनिबार ७ अगष्टदेखि उनीहरुले भोक हडताल शुरु गरेका हुन् । भोक हडतालमा भूपू गोर्खाहरु ज्ञानराज राई र धनबहादुर गुरुङ एवं गोर्खा एकल महिला पुष्पा राना घले बसेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले शनिबार नै सत्याग्रह प्रमुख संयोजक राईलाई बेलायत सरकारसंग कूटनीतिक पहललाई निरन्तरता दिइने व्यहोराको एक पत्र लेख्दै भोक हडताल लगायत विरोध कार्यक्रम फिर्ता लिइदिन आग्रह गरेपनि गोर्खाहरुले सो अनुरोध इन्कार गरेका हुन् । परराष्ट्र सहसचिव निर्मलराज काफ्लेले सत्याग्रहलाई लेखेको पत्रमा संयुक्त प्राविधिक समितिको प्रतिवेदनका आधारमा आगामी चरणको वार्ताका लागि अनुरोध गर्दै बेलायत सरकारलाई शनिबारै पत्राचार गरिएको जनाइएको छ ।

प्रमुख संयोजक राईले बेलायतलाई विगतमा पनि पटक पटक अनुरोध भएका तर सुनुवाइ नगरेका कारण विश्वस्त हुन नसकि भोक हड्तालमा उत्रनु परेको जनाए । नेपाली ब्रिटिस गोर्खाहरुको आन्दोलनमा लण्डन–ब्रिटिश भेट्रान्सहरुले पनि आन्दोलनमा ऐक्यवद्धता जनाउँदै विशाल प्रदर्शन गरेका छन्। विगत ८ दिन देखि आमरण अनसन बसिरहेका गोर्खाहरुलाई साथ दिंदै ब्रिटिश भेट्रान्सहरुले प्रदर्शन गरेका हुन् ।

सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायर देखि मार्चपास गर्दै भेट्रान्सहरु बेलायती प्रधानमन्त्री कार्यालय हुँदै संसद भवनसम्म पुगेका थिए । सो क्रममा गोर्खाहरुले एकै साथ ताली बजाएर धन्यवाद दिए । ब्रिटिश भेट्रान्स र नागरिकहरुको साथले हामीलाई थप उर्जा मिलेको छ’ गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भने । राईले आइतबार सत्याग्रहकै आव्हानमा प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शनको तयारी भएको पनि जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार