महाबौद्धका एकै परिवारका पाँच जना कोरोना संक्रमित, उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  575 पटक हेरिएको

काठमाडौं, साउन १२ ।

बाक्लो बस्ती र जनसंख्याको चाप रहेको काठमाण्डौँमा दिनहुँ कोरोना संक्रमणको जोखिम बढीरहेको छ । आईतबार काठमाण्डौंमा भेटिएका मध्य ५ जना महाबौद्धको एकै परिवारका सदस्य रहेको खुलेको छ । भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरिएको छ ।

महाबौद्ध गणेश मन्दीर छेउमा उनीहरुको व्यवशाय रहेको बताईएको छ । सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको स्रोतले बतायो। पर्सा घर भई महाबौद्धमा बस्ने ती व्यवसायीको विस्तृत परिचय खुलाइएको छैन। उनको घरपरिवारका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो। उनीहरूलाई आईतबारै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।

शुक्रराज अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले एकै परिवारका पाँच सदस्यलाई कोरोना संक्रमण भएको बताए । नाति, नातिनीसहित हजुरबुवा, हजुरआमा, आमालाई पनि संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको हो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। डा. राजभण्डारीका अनुसार कोरोना पुष्टि भएकामध्ये एक जनामा डेंगुको लक्षण समेत फेला परेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. वासुदेव पाण्डेले परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिँदा जोखिमको संकेत देखापरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार