चीन, असार १७ ।
छिमेकी मुलुक चीनमा कम्युनिष्ट पार्टी स्थापना भएको आज एक सय वर्ष पूरा भएको छ । जुलाई १९२१ मा आजकै दिन चीनमा कम्युनिष्ट पार्टीको जन्म भएको थियो । चीनीया कम्युनिष्ट पार्टीले आज एक सय वर्ष पूरा गरेको अवसरमा चीनमा भव्य समारोहको आयोजना गरेको छ । टियानमेन स्क्वायरमा भईरहेको समारोहमा चीनीया कम्युनिष्ट पार्टीका अध्यक्ष एवं राष्ट्रपति सी जिन पिंग सहित अन्य पार्टी नेता र अधिकारीहरु उपस्थित छन् । जनमुक्ति सेनाले सैन्य परेड र लडाकु विमानहरु उडाएको छ ।
चीनीया कम्युनिष्ट पार्टी विश्वकै सबै भन्दा ठूलो राजनीतिक पार्टी हो । यो पार्टीको ८ करोड बढी सदस्य रहेका छन् । एक सय वर्षको ईतिहासमा माओको नेतृत्वमा जनयुद्ध मार्फत सन् १९४९ मा सत्ता कब्जा गरी नयाँ चीन स्थापना हुँदै सांस्कृतिक क्रान्ति र त्यसपछि देगं स्याओ पिंगले सन् १९७८ मा खुल्लापनको नीति लिएपछि चीनले विकासमा नयाँ फड्को मारेको छ । चीनीया विषेशता सहितको समाजवादको नाराले चीनमा ७२ वर्षदेखि चीनीया कम्युनिष्ट पार्टी निरन्तर सत्तामा रहेको छ ।
१९४९ सम्म अत्यन्त गरीबीको स्थितिबाट चीनले अहिले सम्पूर्ण गरीबी अन्त्यको घोषणा गरेको छ । हालै चीन मलेरिया मुक्त भएको डब्लुएचओले घोषणा गरेको छ । चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ । एक अर्ब ४० करोड बढी जनसंख्या रहेको चीनको गरीबी मुक्त हुनु विश्वका लागि उदाहरणीय बनेको छ । आजको बिशेष समारोहमा राष्ट्रपति सि जिन पिंगले संवोधन गरीरहेका छन् ।