धादिङ, बैशाख ५ ।
र्यापिड टेस्टमा पोजेटिभ देखिएका धादिङ ज्वालामुखी गाऊपालिकाका युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार धादिङको ज्वालामुखी गाउँपालिकामा र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । ज्वालामुखी गाउँपालिका वडा नं ३ का २७ वर्षीय दिपक सापकोटाको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको पिसिआर परीक्षणमा कोरोना नभेटिए आएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।
सापकोटा दक्षिण कोरिया बसेर गत फागुन २१ गते घर फर्किएका थिए । र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि धादिङ अस्पतालमा भर्ना गरिएको थियो । ति युवक हाल धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन्। उनमा कोरोनासँग मिल्दो जुल्दो कुनै लक्षण नदेखीएको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।यस्तै धादिङकै त्रिपुरासुन्दरी गाउँपालिका ६ का अमित परियारको पनि स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका सुचना अधिकारी विकले जानकारी दिनुभयो ।
परियारको गत चैत २९ गते धादिङ अस्पतालमा र्यापिड टेस्ट (आरडीटी किट) बाट कोरोना भाइरसको परीक्षण गरिएको थियो । उनको आरडिटी विधि मार्फत गरिएको टेस्टमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको तर बिदेशबाट आएका र उनमा उच्च ज्वरो देखीएकाले अस्पतालको आइसोलेसनमा राखी स्वाब परीक्षणको लागी काठमाडौँ पठार्ईएको थियो । परियारको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको सुचना अधिकारी विकले बताउनुभयो ।