काठमाडौ, चैत्र १५ ।

दोधारमा रहेको नेपाली कांग्रेसले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गरेर जाने निर्णय गरेको छ। आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर जाने सर्वसम्मत निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘स्थानीय चुनावका लागि स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा भयो,’ महतले भने, ‘यसका लागि केन्द्रदेखि तल्ला तहसम्म संयन्त्र बन्छ।’
अब गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर अघि बढ्ने पनि महतले बताए। सत्तारूढ पाँचदलीय गठबन्धनलाई चुनावसम्मै लैजाने कांग्रेसले निर्णय गरेको हो। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको सहकार्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।
सरकार बनाउँदा साथ दिएका दलहरूलाई नै कांग्रेसले चुनावसम्म कायम राख्ने भएको हो। तर उम्मेदवार तय गर्नेजस्ता विभिन्न निर्णय भने विधानको व्यवस्थाअनुसार नै विभिन्न तहबाट गरिने महत बताउँछन्।
‘विधानको प्रक्रिया र व्यवस्थाअनुसार जुन तहलाई जुन अधिकार दिइएको छ त्यहीबाट तालमेलको निर्णय हुन्छ,’ प्रवक्ता महतले भने। कांग्रेस विधानअनुसार प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा संसदीय बोर्ड गठनको व्यवस्था छ। यही समितिले नै कुन दलसँग तालमेल गर्ने भन्ने निर्णय गर्नेछ।
केन्द्रले संसदीय बोर्ड र अनुशासन समिति भने गठन गरेको छैन। आवश्यक परामर्शपछि गठन गर्ने तयारी रहेको महतले बताए। केन्द्रीय समितिले देशव्यापी रूपमा क्रियाशील सदस्यता र साधारण सदस्यता वितरण गर्ने निर्णय पनि गरेको छ। कांग्रेसमा प्राय: महाधिवेशन हुने वर्ष अन्तिममा मात्रै क्रियाशील सदस्यता वितरण गर्दा विवाद हुने गरेको थियो।
नेपाली कांग्रेसको मिटीङका निर्णयहरु





599 पटक हेरिएको 
















