

काठमाडौं, फागुन ११ ।

निवर्तमान सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसन प्रकरणबारे पार्टीभित्र आन्तरिक छानबिन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । ओलीको विश्वासपात्रको रूपमा रहेका बास्कोटालाई पार्टीको आन्तरिक छानबिन गर्न अस्वीकार गरेको हो ।
शनिबार बसेको नेकपाको सचिवालय बैठकमा आन्तरिक छानबिन गर्नुपर्ने भन्दै आवाज उठेपनि ओलीले उक्त प्रस्ताव अस्वीकार गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिए । ओलीले अस्वीकार गरेसँगै बास्कोटामाथि आन्तरिक छानबिन टरेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट बिहीबार राजीनामा दिइसकेका छन् ।

‘सञ्चारमन्त्रीले राजीनामा दिइसकेका छन । तत् पश्चात अख्तियार लगायतका राज्यका निकायहरुले त्यसबारे थप अध्ययन गरिरहेको बैठकमा जानकारी गराउने काम भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।
यद्यपि बास्कोटाको अडियो प्रधानमन्त्रीलाई डेढ दुई महिना पहिले नै जानकारी भएको भन्दै खबरहरु प्रकाशित भइरहेको बेला बैठकमा प्रधानमन्त्री ओलीमाथि अध्ययन गर्नेबारे भने कसैले प्रश्न उठाउन नसकेको ती नेताले जानकारी दिए ।





905 पटक हेरिएको 
















