दक्षिण कोरियामा १५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि, कोरोना भाईरस संक्रमितको संख्या धेरै हुने तेस्रो मुलुक

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  625 पटक हेरिएको

दक्षिण कोरिया, फागुन ९ ।

दक्षिण कोरियाले घातक नयाँ कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ। त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिएको बीबीसिले जनाएको छ। 

प्रधानमन्त्री चुङ स्ये-क्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्। दक्षिणी सहरहरू डाएगु र चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र” घोषणा गरिएको छ। डाएगुका सडकहरू अहिले प्राय: सुनसान छन्। 

परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ। 

दक्षिण कोरियाको स्थिति के छ? 

एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वारन्टीनमा बस्न भनेका छन्। त्यहाँ शुक्रवार ५२ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ। अघिल्लो दिन ५३ मानिसमा सङ्क्रमण भएका बताइएको थियो। 

दक्षिण कोरिया

दक्षिण कोरियामा अब कुल १५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि भएको छ। चीनबाहिर र जापानको तटनजिकै रोकिएको एउटा क्रूज पानीजहाजमा भएका सङ्क्रमित मानिसको सङ्ख्यापछि त्यो ठूलो सङ्ख्या हो। 

यसै हप्ता केहीअघि चेओङ्डो सहरमा अधिकारीहरूले दक्षिण कोरियामा पहिलो पल्ट एक मानिसको मृत्यु कोरोनाभाइरसका कारण भएको जनाएका थिए। ती पुरुष एउटा मानसिक स्वास्थ्य उपचार केन्द्रमा लामो समयदेखि उपचाररत बिरामी थिए। त्यहाँ उनीसहित अन्य १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो। 

अहिले बिश्वमा कोरोना भाईरसको स्थिति के छ?

विश्वमा अहिलेसम्म ७६,००० भन्दा बढी मानिसमा कोभिड-१९ भएको पुष्टि भएको छ भने २,२४७ जनाको मृत्यु भएको छ।अधिकांश सङ्क्रमण र मृत्युका घटना चीनमा भएका छन्। चीनमा ७५,००० जनामा सङ्क्रमण भएको र २,२३६ जनाको मृत्यु भएको तथ्याङ्क छ। 

उक्त भाइरस विश्वका विभिन्न देशमा पनि फैलिएको छ। एशिया, युरोप, अमेरिका र अफ्रिकामा केही व्यक्तिको मृत्यु पनि भएको छ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार