अमेरिका, बैशाख २ ।
अमेरिकामा विनाशकारी आँधीका कारण मर्नेको संख्या ३० पुगेको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा आएको आँधिका कारण उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन हुँदै गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण विश्व कै सबैभन्दा धेरै मानिसको मृत्यु भइरहेका बेलामा अमेरिकामा आँधीका कारण पनि मानवीय क्षति भएको हो ।अमेरिकी सञ्चार माध्यमहरुले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै सोमबार जनाए अनुसार घटना आइतबार भएको थियो ।
मौसम पूर्वानुमान विभागका अधिकारीहरुले थप आँधीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । मिसिसिपीका गभर्नर टाटे रिभेसले सामाजिक सञ्जाल ट्वीटर मार्फत् राज्यभरी संकटकाल घोषणा गरिएको जानकारी दिएका छन् । उनले भनेका छन्, “नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिदै राज्यमा संकटकालको घोषणा गर्नु परेको छ ।” उनले आँधीबाट पिडितहरुलाई सरकारले खोजी तथा उद्धार गरिरहेको पनि जानकारी दिए । “आँधीबाट प्रभावित हाम्रा नागरिक र उनीहरुको सम्पत्तिको रक्षा गर्न खोजी तथा उद्धारका लागि हामीले हाम्रा श्रोत साधनहरु परिचालन गरेका छौँ,” गभर्नर रिभेसले लेखेका छन् ।
उनले कोही पनि नागरिक एक्लै नरहेको र उनीहरुको साथमा सरकार रहेको बताउदै चिन्ता नलिन आग्रह गरेका छन् । पूर्वानुमान विभागले यस्तो आँधी आउनसक्ने अनुमान पहिले नै गरिएको अन्तराष्ट्रिय संचार माध्यमले बताएको छ । विभागले यस आधीलाई अपेक्षित नै भएको जनाएको छ । – रासस