काठमाडौं, भदौ १२।
दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ फराकिलो गोल अन्तरले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरेका थिए ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने गर्न सकेन । नेपाली टिम आक्रामक खेलेपनि ५५ औं मिनेटमा बंगलादेशका मिराजुलले दोस्रो गोल गरेका हुन् । खेलको ७१ औं मिनेटमा रवि हुसेनले पुनः गोल गरेका थिए । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।
नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरेका थिए । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास गरे पनि गोल गर्न सफल हुन सकेन। तर ९६ औं मिनेटमा चौथो गोल गर्दै नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित सुनिश्चित गरेको थियो।