प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद पुनर्गठन, ८ मन्त्री र १ राज्यमन्त्री थपिए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  922 पटक हेरिएको

काठमाडौं पुस,१०। 

प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । साथै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन भएको थियो । र, प्रचण्ड–माधव समूहमा रहेका ७ मन्त्रीले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले शुक्रबार आफ्नो समूहका नेताहरुलाई मन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेका छन् ।

थपिएका ८ मन्त्रीमध्ये ५ जना प्रचण्डलाई छाडेर ओली समूहमा लागेका नेताहरु छन् । प्रचण्डलाई छाडेर ओली समूहमा आएका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा मन्त्री भएका हुन् । रायमाझीलाई उर्जा, थापालाई खानेपानी, साहलाई सहरी विकास, चौधरीलाई श्रम र लामालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेकपा फुट्दा रायमाझी र थापा ओलीतिर लागेका थिए भने साह प्रचण्ड–माधव समूहमा । रामबहादुर थापा बादल निकट रहेका लामा बिहीबार मात्र प्रचण्ड–माधव समूहको बैठकमा पुगेका थिए । तर शुक्रबार ओली समूहमा आएर मन्त्री बनेका छन् ।

यस्तै प्रेमबहादुर आले वन, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन र जुलीकुमारी महतो महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार