काठमाडौं, जेठ ११ ।
नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६०३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन आइतवार १९ जना नयाँ संक्रमित थपिएका हुन्। जस अनुसार पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुमा नयाँ संक्रमित भेटिएका छन्। त्यसैगरी गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन्। आइतवार मोरङमा १, बारामा १, पर्सामा ३, रौतहटमा १, सर्लाहीमा १, रूपन्देहीमा ६, काठमाडौँ सोह्रखुट्टेमा १, नुवाकोटमा १, कपिलवस्तुमा ३, गुल्मीमा १ जना गरी जम्मा १९ संक्रमित थपिएका हुन्।
पछिल्लो पटक कोरोना संक्रमित भेटिने नयाँ जिल्लामा नुवाकोट थपिएको छ। यससँगै कोरोना संक्रमण फैलिएर ४२ जिल्लामा पुगेको छ। ककनी गाउँपालिका–३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको छ। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो ।
जसमा अरुको रिपोर्ट नेगेटिभ आए पनि उनको पोजेटिभ आएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ८७ पुगेको छ। पछिल्लो पटक बुटवलबाट १० जना र पर्साको वीरगञ्जबाट ७ जना निको भएर घर फर्किएका छन्।
बारामा एकैदिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
बारामा एकैदिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारी रहेका बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित पुष्टि गरे ।उनका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया–१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी संक्रमित भएका हुन् ।
यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पण्डितका अनुसार पहिलो संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो । बालमन्दिर आइसोलेसनमा बस्दै आएका उनीहरुलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।