कैलाली, बैशाख ७ ।
धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित अर्का युवक पनि निको भएका छन् । उनलाई अस्पतालले आज डिस्चार्ज गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो । पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि निजलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।
चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको डा. जोशीले बताए । भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।
११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनी आइतबार नै घर फर्किने अस्पताल स्रोतले बताएको छ । नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये हालसम्म यी युबक सहित ४ जना उपचारबाट निको भई घर फर्किएका हुन।