काठमाडौं, फागुन २१ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।
ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीको नेतृत्वमा १६ जना चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण गरेको हो ।
उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् । प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।
त्यसैगरी मिर्गाैला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागिता थियो । कार्यकारी निर्देशक डा. खड्गाका अनुसार एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको छ ।
ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।