काठमाडौं, फागुन ७ ।
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन् । केआईआईटी युनिभर्सिटीका तीन जना निर्देशक र दुई सुरक्षागार्डलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको भारतिय संचारमाध्यमले उल्लेख गरेको छ ।
युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया नेपाली बिद्यार्थी प्रकृति लम्साल आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहारका कारण तनाब भएको र ब्ल्याकमेल भएकोबारे उनले पटक पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो । तत्पश्चात प्रकृतिको न्यायको न्यायको लागि भएको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो ।
पछि भुवनेश्वर प्रहरीले कलेजको मानव स्रोत विभागका कार्यकारी निर्देशक शिवानन्द मिश्र, प्रशासनका निर्देशक प्रतापकुमार चम्पाठी, होस्टलका निर्देशक सुधिरकुमार राठ, सुरक्षागार्ड रमाकान्त नायक र जोगिन्द्र बेहेरालाई पक्राउ गरेको थियो । नेपाली बिद्यार्थीहरुले निष्पक्ष रुपमा घटनाको छानबिन हुनुपर्ने जनाईरहेको अबस्थामा पक्राउ परेका भने धरौटीमा छुटेका छन । उक्त घटनालाई छानबिनको लागि प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेका छन भने नेपाली राजदुताबासका कन्सुलर पनि नेपाली बिद्यार्थीहरुसँग थप समन्वयका लागि ओडिसा पुगेको छ ।