काठमाडौं माघ, १३ ।

जेनजि आन्दोलन पछि गठित निर्वाचन सरकारलाई भारत सरकारले सहयोग गर्दै गाडी सहयोग गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको हो। माघ ६ गते सिंहदरबास्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले नेपाल सरकारलाई क्याबिन पिक भ्यान हस्तान्तरण गरेको हो । अहिले यी गाडीहरू सिंहदरबारस्थित गृहमन्त्रालय अगाडि राखिएको छ ।
गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो । उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो । यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ । गाडीहरू नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ ।
भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ । जेनजि आन्दोलनमा अधिकांश सरकारी भवन र सवारी साधनहरु जलेर ध्वस्त भएको र नेपाल प्रहरी लगायत निर्वाचन अधिकारीहरुको लागि समेत सवारी साधनको अभाब रहेको थियो भने भारत सरकारको यो सहयोगले नेपाल सरकारलाई निर्वाचन परिचालनको लागि सहयोग पुग्नेछ । भारत सरकारले बाचा गरिएको अन्य बाँकी सवारी साधनहरु पनि निर्वाचन अगाबै आउने जनाईएको छ ।



72 पटक हेरिएको 

















