काठमाडौं, पुस १४ ।
सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गर्दै सामाजिक जीवनलाई अनुशासित, व्यवस्थित र सभ्य बनाउन आवश्यक भएको र सोको लागी नेपाल बिशेष सेवा बिधेयक २०७५ ल्याईएको दाबी गरे ।
यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले विरोधको सूचना पेश गरेका थिए, जसलाई वहुमतले अस्वीकृत गरेको छ । विरोधको सूचना प्रस्तुत गर्दै पन्तले नागरिकको स्वतन्त्रता हनन गर्ने, गोपनियताको हक भंग गर्ने भन्दै यो विधेयकलाई ‘ज्यानमारा’ को संज्ञा दिए ।
राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले नेपाल विशेष सेवा विधेयक २०७६ अस्वीकार्य रहेको बताएका छन्। फरक विचार र दलका मान्छेलाई ठाउँको ठाउँ सिध्याउने उद्देश्यले सरकारले यो विधेयक राष्ट्रियसभामा पेश गरेको भन्दै सांसद पन्थले विरोध गरे।
‘फरक विचार, फरक दललाई मात्र होइन आफ्नो पार्टीका फरक विचार राख्नेलाई ठाउँको ठाउँ सिध्याउन यो विधेयक ल्याइएको छ,’ सांसद पन्थले भने, ‘यो विधेयक खतरापूर्ण छ।’ उनले जनताको निजी जीवनमा राज्य सिधैं हावी हुन खोजेको पनि आरोप लगाए। टेलिफोन कुराकानीदेखि सामाजिक सञ्जालमा हुने सम्पूर्ण कुरा सरकारले हेर्ने र सुन्ने पनि उनले तर्क गरे।
‘निजी जीवनमा सरकार सिधैं हावी भयो। श्रीमान्-श्रीमतीबीच हुने सबै कुरा अब सरकारले सुन्नेछ/हेर्नेछ,’ उनले भने, ‘बिहे गर्ने उमेरका भाइ बहिनीहरू प्रेममा पर्नुभएको छ र टेलिफोनमा कुराकानी गर्नुहुन्छ भने यो सरकारले सुन्नेछ।’
उनले समाचार लेख्ने पत्रकार पनि होसियार हुनुपर्ने बेला आएको बताए। ‘यो विधेयकले सेन्सरसिपलाई बढवा दिन्छ,’ उनले भने, ‘म्यासेज लेख्दा वा समाचार पठाउँदा होस् पुर्याउनुपर्छ। किनभने सम्पादकले भन्दा पहिले सरकारले हेर्छ।’
विधेयकले नागरिकको मौलिक हक तथा स्वतन्त्रताको हक माथि सिधै हस्तक्षेप गरी खोस्न खोजेको पनि उनले तर्क गरे।