काठमाण्डाै, पुस १३ ।
‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानकारी दिनुभयो । मन्त्री भट्टराईले यसकाे संयोजन गर्ने गैरआवासीय नेपाली सङ्घ (एनआरए) अध्यक्ष कुमार पन्त लगायत सम्पूर्ण राष्ट्रिय समन्वय परिषदलाई धन्यवाद पनि दिनुभएको छ ।
यसअघि संविधान दिवसकाे दिन संसारकै अग्लो यूएईको बुर्ज खालिफा टावरमा नेपालको झण्डा फहराइएको थियो । उहाँले अहिले १४ देशका अग्ला टावरको पक्का भएको र बाँकीको लागि पनि तयारी भैरहेको बताउनुभयाे ।
मन्त्री भट्टराईका अनुसार निम्न सहरका अग्ला टावरमा नेपालकाे झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो फहाराइनेछ ।
सिड्नी-अस्ट्रेलिया, वेलिङ्टन-न्युजिल्याण्ड, टाेक्याे-जापान, सियाेल-दक्षिण काेरिया, दाेहा-कतार, यूएई-दुबई, हङकङ, म्युनिख-जर्मनी, ब्रसेल-बेल्जियम, बेलायत-लण्डन, न्यु-याेर्क अमेरिका, डब्लिन-इरेल्याण्ड, टाेरन्टाे-क्यानडा र शिकागाे-अमेरिकामा नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसार स्वरूप भ्रमण बर्ष २०२० को लोगो र नेपालको झण्डा फहराईने भएको मन्त्रि भट्टराईले सामाजिक संजाल फेसबुकबाट जानकारी गराएका छन ।