सोमालियाको राजधानीमा शक्तिशाली कारबम बिस्फोट हुदाँ ७६ जनाको मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  623 पटक हेरिएको

सोमालिया, पुस १२ ।

सोमालियाको राजधानी मोगादिसुको एक व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका अधिकारीले जनाएका छन्।

घटनामा कम्तीमा ७० जना घाइते भएका बताइएको छ। ‘विस्फोटमा कम्तीमा ७६ जनाको मृत्यु भएको र मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका छन्,’ उद्धारका लागि खटिएका एम्बुलेन्सका कर्मचारी अब्दुकादिर अब्दिरहमान हाजीले राष्ट्रिय संचार माध्यमलाई बताए।

विष्फोट मोगादिसुको दक्षिणपश्चिमको चोकमा भएको थियो। उक्त स्थानमा सुरक्षा जाँचका लागि खडा गरिएको अस्थायी सुरक्षा पोस्ट र कर कार्यालयसमेत रहेकोले विष्फोटमा धेरै जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा संचार माध्यमलाई बताए।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको र घाइतेमध्ये दर्जनौंको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा कारका टुक्राहरू मात्र रहेका सामाजिक सञ्जाल तथा टेलिभिजनमार्फत् सार्वजनिक दृष्यहरूमा देख्न सकिन्छ भने सुरक्षाकर्मीहरूले घटनास्थल वरपरका क्षेत्रमा आक्रमणकारी लुकेका हुनसक्ने आशङ्कामा उनीहरूको खोजी गरिरहेको छ।

मोगादिसुमा विद्रोही अल साबाब इस्लामिक समूहले पटकपटक आक्रमण गर्दै आएको छ। शनिबार भएको आक्रमण अल कायदाको सहयोगी सङ्गठनक अल साबाब इस्लामिक लडाकूले गराएको हो।

प्रहरीका अनुसार घटनामा विद्यार्थी तथा टर्कीबाट सडक निर्माणका लागि खटिएका श्रमिक तथा केही इन्जिनियरहरूसमेत परेका छन्। (रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार