काठमाडौं, पुस ११ ।
नेपाल पुलिस क्लबले जारी कतार एयेरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग पहिलो जित हासिल गरेको छ । दस खेलाडीमा सिमित पुलिसले शुक्रबार सरस्वती युथ क्लबलाई २–० हराउँदै तेस्रो खेलमा पहिलो जित निकालेको हो । पुलिसको जितमा सुमन लामा र भोला सिलवालले गोल गरे । सरस्वतीको यो लगातार तेस्रो हार हो । सुमनले ४६ औं मिनेटमा गोल गरेका थिए । विपक्षी रक्षकको गल्तिको फाइदा उठाउँदै प्राप्त पासमा सुमनले गोल गरेका थिए । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका भोलाले ७९औं मिनेटमा गोल गर्दै पुलिसको अग्रतालाई दोब्बर पारे ।
टोलीका लागि पहिलो गोल गरेका सुमनको पासमा भोलाले वान टचमा गोल गर्दा सरस्वतीका गोलकिपर प्रदीप भण्डारीले रोक्ने कुनै मौका पाएनन् । भोला ६१ औं मिनेटमा रवि पासवानको ठाँउमा मैदान प्रवेश गरेका थिए ।
त्यसअघि पहिलो हाफको इन्ज्युरी समयमा पुलिस १० खेलाडीमा सिमित भएको थियो । दोहोरो पहेलो कार्ड पछि रातो कार्डको सामना गर्दै अन्जन राईले मैदान छाडेपछि पुलिस १० खेलाडीमा सिमित भएको थियो । इन्ज्युरी समयको दोस्रो मिनेटमा मैदान छाडेका अन्जनले ३३ औं मिनेटमा पहिलो पटक पहेलो कार्ड पाएका थिए ।
दशरथ रंगशालामा दुवै टोलीले गोलको थोरै अवसर पाए । तर, सदुपयोग गर्न सकेनन् । खेलको पाँचौ मिनेटमा लामो समयपछि फुटबलमा पुनरागमन गरेको पुलिसका रविन श्रेष्ठको क्रसमा रवि पासवानले बल भेटेपनि नियन्त्रणमा लिन सकेनन् । २२औं मिनेटमा रविको क्रसमा सौजन राईले गोल गर्ने सुन्दर मौका खेर फाले । अनमार्क रहेका उनले पर्याप्त समय लिएर गरेको प्रहार पोष्टबाट थोरै बाहिरियो ।