

काठमाण्डौँ, पुस ११ ।

भारतको चेन्नईमा अहिले नेपालमा चल्ने रेल धमाधम निर्माण भईरहेको छ । अहिले नेपालमा चल्ने रेल धमाधम पेन्टिङ भइरहेको छ। आफ्नो लागि रेल बनाउँदै आएको भारतको सरकारी कम्पनीले नेपालका लागि डिजेल इलेक्टोनिक मल्टिपल युनिट (डिइएमयु) रेलको डिब्बा बनाउदै छ। यो डिजेल इन्जिन हो।
भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेल निर्माण भइरहेको हो। निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार अहिलेसम्म रेल आइसक्नुपर्ने भएपनि प्राविधिक कारण देखाउदै एक महिना समय थप भएको थियो। अब भने तोकिएकै समयमा रेल आउने विभागको दाबी छ। गत हप्ता रेल विभागको टोली चेन्नई पुगेर फर्किएको थियो। रेल विभागका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता अमन चित्रकार रेलको निमार्ण अन्तिम चरणमा पुगेको र जनवरीको अन्तसम्ममा रेल नेपाल आउने दाबी गरे।
‘पहिलो रेल एक महिनामा भित्रै आउने भएपनि दोस्रो रेल आउन भने अर्को एक महिना लाग्छ,’ रेल विभागका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले भने। रेल आउने भएपनि रेल संचालनको लागि आवस्यक कर्मचारी व्यवस्थापनमा भने सरकार निदाएको छ। बाहिर रेलको बारेमा निकै गफ दिने सरकार निर्णायक तहमा भने सुस्त देखिएको हो।

‘बाटो तयार भयो, अब गाडी ल्याउने र चलाउने भन्ने जस्तो रेलको संचालन होइन,’ चित्रकारले भने, ‘रेल आइसकेपछि रेल चालक (लोकोपाइलट), सिग्नलिङ गर्ने कर्मचारी, इन्जिनियर तथा व्यावस्थापनक चाहिन्छ। अहिले सम्म यस विषयमा कुनै निर्णय भएको छैन।’ उनी प्राविधिक कर्मचारीहरु छनौट गर्ने भन्दा पनि विदेशबाट आउटसोसिंङ गर्नुपर्ने बताउँछन्। त्यसको लागि विभागले निर्णय गरेर मन्त्रालयमा बुझाएको भएपनि मन्त्रीपरिषद्ले निर्णय गरेको छैन। रेल संचालनको लागि २ सय भन्दा बढी कर्मचारी आवश्यक रहेको विभागले बताएको छ।
‘नेपालमा रेलमा काम गरेको दक्ष जनशक्ति छैनन् त्यसैले यो विदेशबाटै ल्याएर रेल संचालन गर्ने हो,’ चित्रकारले भने, ‘प्रशासनिक कर्मचारी भने नेपालबाटै नियुक्त गरिन्छ।’ त्यसको पनि प्रक्रिया अघि नबढेको उनले बताए। ‘रेल चल्नको लागि लिग, रेलको सेट, सिग्नल र टिकेटिङ तथा रेल चालकको छनौट पनि भएको छैन, यो सबैमध्ये मुख्य कुरा कर्मचारी व्यवस्थापनमा सरकारले निर्णय गर्नुपर्छ,’ चित्रकारले भने ।

लामो समय रेल क्षेत्रमा काम गरेका अनुभवीलाई मात्रै रेल चालकको रुपमा अनुमती दिने अन्तर्राष्ट्रिय मान्यता छ । ‘१३ सय भन्दा बढी यात्रु बोकेर हिँड्ने भएपछि चालकको हातमा उनीहरुको जीवन हुन्छ, त्यसैले पनि अनुभवी चालकलाई मात्रै संचालनको अनुमति दिइन्छ,’ चित्रकारले भने।
भारतमै पनि लामो समय सामान बोक्ने रेल चलाएपछि सहचालक बन्न पाइने र सहचालक भएर काम गरेको ५ वर्षपछि मात्रै रेल चालक हुन पाइने व्यावस्था रहेको छ। कर्मचारी व्यवस्थापनमा सरकार निदाउँदा रेल आएपनि तत्कालै संचालन हुनेमा भने शंका देखिएको छ। रेलको लिक भने यस अघि नै बनिसकेको थियो। तर, बाढीका कारण ७०० मिटर लिग भत्केपछि अहिले उक्त लिग पुर्ननिर्माण भइरहेको छ। लिग निमार्णको काम चाडै सकिने विभागको दाबी छ।
रेल जयनगर देखि कुर्था सम्म ३५ किलोमिटरमा चल्ने छ। यसबीचमा ८ वटा स्टेशन छन्। रेलको लिक एउटा मात्रै भएपनि स्टेशनमा भने दुई वटा लिग छन् । यसले गर्दा रेलहरु सजिलै पास हुन्छन्। १४० अधिकतम गति भएपनि स्टेशन नजिकै पर्ने भएकाले रेलहरु आफ्नो अधिकतम गतिमा भने चल्ने छैनन्।

