सभामुख चयनमा नेकपा अध्यक्ष बीच कुरा मिलेन, सभामुख चयन प्रक्रिया अन्योल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1239 पटक हेरिएको

काठमाडौं, पुस १० ।

नेकपा नेतृत्वबिच सभामुख चयनको विषयमा कुरा नमिलेपछि संघीय संसदले सभामुख पाउने अझै अन्योल रहेको छ । नेकपाका बरिष्ठ नेताहरुले सचिवालय बैठकमा छलफल गरेर एउटै मत बनाउन नेतृत्वलाई दबाब दिएका छन् ।

नेकपा स्रोतका अनुसार अहिलेसम्म व्यक्ति तोकेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छैन । तर प्रचण्डले सभामुख कसलाई बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडान राखेका छन् । प्रतिनिधिसभाको सभामुख यसअघि नै तत्कालीन माओवादीको भागमा परेकाले प्रचण्डले अबको सभामुख पनि आफूले प्रस्ताव गर्ने बताएका छन् ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रचण्डले व्यक्ति तोकेर छलफल गरेका छैनन् । उनले सचिवालयमा आफूले नाम प्रस्ताव गर्ने मात्र बताएका छन् । तर नेताहरुले भने दुई अध्यक्षबीच सहमति गरेर एउटै नाम ल्याउन सुझाव दिएका छन् । सम्भवतः नेकपा सचिवालय बैठक शुक्रबार बस्नेछ ।

स्रोतका अनुसार सभामुखचयनमा दुई अध्यक्षबीच कुरा मिलिसकेको छैन । उहाँहरु आ-आफ्नै अडानमा हुनुहुन्छ । प्रचण्डले सभामुख मैले प्रस्ताव गर्ने हो यसमा ओलीजीले अप्ठेरो पारिदिनुभएन भन्ने आशय प्रकट गर्नुभएको छ । तर प्रधानमन्त्रीचाहिँ अबको संसद झनै पेचिलो बन्ने भएकाले सुवास नेम्वाङलाई बनाउन चाहानुहुन्छ ।

प्रचण्डले अग्नि सापकोटाको नाम अघि सार्ने अनुमान छ । प्रचण्डमाथि सभामुख पद पूर्व एमालेलाई नछाड्न दबाब छ । उनले ओली र अन्य नेताहरुसँगको भेटमा सभामुख प्रस्ताव गर्ने अधिकार आफूलाई दिन आग्रह गरेका छन् । पूर्व एमालेबाट सभामुख दाबी गर्न नमिल्ने प्रचण्ड पक्षका नेताहरुको भनाइ छ ।

सभामुख पनि छाडेको खण्डमा प्रचण्डबाट पूर्वमाओवादीहरुको संरक्षण हुन सक्दैन भन्ने मनोवैज्ञानिक सन्देश तलसम्म जाने ती नेताहरुको तर्क छ । ओली पक्षले भने पार्टी एक भइसकेको अवस्थामा पूर्वसमूह भनेर भागबण्डा नहुने बताइरहेको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि आफू सभामुखको प्रमुख दाबेदार रहेको बताएकी छन् । उनले यही अडान कायम राखेर अहिलेसम्म राजीनामा दिएकी छ्रैनन् । सभामुख निर्वाचन प्रक्रिया शुरु हुनुअघि नै आफू निकास दिन तयार रहेको भन्दै उनले त्यसभन्दा पहिला पार्टीले आफूलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गर्नुपर्ने बताएकी छन् । तर ओली सरकार समाजबादी पार्टीका अध्यक्षलाई क़ानूनमन्त्रिबाट हटाएर तुम्बाहाम्फेलाई क़ानूनमन्त्रिको जिम्मेवारी दिने र सभामुखमा सुवास नेम्बांगलाई ल्याउने रणनीतिमा छन । समाजबादीका अध्यक्ष लगायत मन्त्रिहरूले पदबाट राजिनामा दिई सरकार छाडीसकेको अवस्था छ । तर पार्टीमा प्रचण्ड कार्यकारी अध्यक्ष भएकोले सभमुख छनोट पनि आफुले छान्न पाउनु पर्ने अडान राखेपछी सभमुख चयन प्रक्रियामा अन्योल बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार