

काठमाडौं, पुस १० ।

शिक्षा मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गराउने भएको छ । काठमाडौंमा बिहीबार बिहान ८ः४२ बजेदेखि ११ः३१ बजेसम्म ग्रहण लाग्नेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८:३८ मा सुरु भई ११:१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८: ४८ मा सुरु भई ११ः२७ मा सकिनेछ ।
वैज्ञानिकका अनुसार, नांगो आँखाले ग्रहण हेरेमा दृष्टि गुम्नेसम्मको खतरा हुन्छ । यसैलाई मध्यनजर गर्दै काठमाडौंस्थित बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले यसको दृश्यावलोकन गराउने व्यवस्था यसपटक मिलाएको छ ।
शिक्षा मन्त्रीलाई आमन्त्रण

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा। सनतकुमार शर्माले आज लाग्ने खण्डग्रास सूर्यग्रहण दृश्यावलोकन गर्न चाहनेका लागि व्यवस्था मिलाइएको बताए ।
शर्माका अनुसार, विशेष प्रकारको टेलिस्कोपबाट इच्छुक सर्वसाधारणले ग्रहण अवलोकन गर्न सक्नेछन् । अवलोकनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल लगायतलाई आमन्त्रण गरिएको उनलले जानकारी दिए ।
शर्माका अनुसार, यसरी ग्रहण अवलोकन गर्दा सर्वसाधारणलाई कुनै शुल्क लाग्दैन । वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भावका लागि यसरी ग्रहण अवलोकन गराउन लागिएको उनले बताए ।

