धरहरा पुनर्निर्माणको गति तीब्र, अर्को बर्ष पुनर्निर्माण सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1456 पटक हेरिएको

काठमाडौं , पुस, ८ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण तीब्र गतिमा अघि बढिरहेको छ । भूकम्प गएको तेस्रो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले धराहराको भग्नावशेषछेउ उभिएर, ‘म बनाउँछु मेरो धराहरा’ अभियानको घोषणा गरेका थिए । तर प्रधानमन्त्रीले सोचेजस्तो नागरिक स्तरबाट न रकम उठ्यो, न धरहरा बन्यो ।

१३ पुस २०७५ बाट भने धरहरा पुनर्निर्माणले गति पाएको छ । १ वर्षभित्र नयाँ धरहरा ठडिने पुनर्निर्माण प्रधिकरणको दाबी छ । पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले पाएको छ । सुरुमा स्थानीय बासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि निर्माणको काम अबरुद्ध भएको थियो । अहिले भने कुनै अवरोध छैन ।

धरहराको निर्माणको भौतिक प्रगति ३३ प्रतिशत र वित्तिय प्रगति २२ प्रतिशत भएको प्राधिकरणले बताएको छ । जमीनमुनि काम गर्न धेरै समय लाग्ने भएकाले केही सुस्त भएको भन्दै अब जमीनमाथिको काम तीव्र हुने प्राधिकरणको दाबी छ । हालसम्म धरहराको ३ तल्ला निर्माण भएको छ भने चौथो तल्लाको निर्माण शुरु भएको छ । अबको १२ दिनभित्रमा चौथौ तल्ला सकिने प्राधिकरणका पुनर्निर्माण विज्ञ राजुमान मानन्धरले जानकारी दिए ।

धरहरा पुनर्निमाणको अवस्थाबारे पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले मंगलबार अवलोकन गरेका छन् । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले अर्को वर्ष नयाँ धरहरामा चढ्न पाइने बताए ।

प्राधिकरणले भत्किएको धरहरालाई जस्ताको तस्तै राखेर नजिकै नयाँ धरहरा निर्माण गरिरहेको हो । पुरानो धरहरालाई पनि म्युजियमको रुपमा सीसाले बेरेर राखिने उनले बताए । १५ दिनमा हरेक तल्ला थप हुने योजना अनुसार काम भइरहेको भन्दै उनले कामको गतिबाट आफू सन्तुष्ट रहेको उल्लेख गरे । ‘काम अपेक्षित गतिमा बढिरहेको छ, कुनै अप्ठ्यारो देखिएको छैन’ उनले भने ।’

बन्दैछ सुबिधा सम्पन्न धरहरा

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइन, तर भित्र सुविधासम्पन्न हुनेगरी बनाउन लागिएको हो । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

प्राधिकरणका अनुसार बाहिरबाट हेर्दा ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । वि.सं. १९९० सालको भूकम्प अघि धरहरा ११ तलाको थियो । भूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

धरहरामा भ¥‍‍याङ चढेर मात्र होइन, लिफ्टबाट पनि उक्लिन सकिने छ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ ।

प्राधिकरणकाअनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ । बेसमेन्टमा तल–माथि गर्न लिफ्ट हालिने छ । धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ । म्युजियम जाने बाटोमा ५० फिट अग्लो वाटर फाउन्टेन हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार