नुवाकोट, पुस ६ ।
नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो ।
मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा.२ क. ७९१० नम्बरको ट्रकमा सवार सोही कम्पनीका दुईजना कर्मचारीको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। नायब उपरीक्षक थापाका अनुसार ट्रकमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको बताए।
मृत्यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय सुदीप तामाङ (सह–चालक) र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तामाङको घटनास्थलमै मृत्यु भएको खुलेको छ।
घाइतेलाई त्रिशूली अस्पतालतर्फ उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरी बलको नं. १९ गुल्मका प्रहरी निरीक्षकको टोलीसहित नेपाल प्रहरी पनि खटिएको छ ।सडकबाट तल खसेको ट्रक क्षतविक्षत भएको छ ।