प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया एक हप्तापछि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  971 पटक हेरिएको

काठमाडौं, पुस ४ ।

प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ देखि सुरू हुने भएको छ। उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीले बताए।

बैठकले आज बस्ने प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाङफेले गर्ने सहमति पनि जुटाएको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ।

सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन्।

शुक्रबार ‌संसद बैठकमा अधिवेशन सुरु भएकोबारे राष्ट्रपतिको पत्र, मन्त्रिपरिषदका सदस्य हेरफेरबारे राष्ट्रपतिको पत्र पढेर सुनाउने कार्यसूची छ । त्यस्तै चार जना पूर्वसां‌सदको शोक प्रस्ताव पारित गर्ने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सात जनाको नाम पढेर सुनाउने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

संसद अधिवेशन र सभामुख निर्वाचनको प्रक्रियालाई लिएर बिहीबार नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उपसभामुख तुम्बाहाम्फेले संसदको हिउँदे अधिवेशनको पहिलो बैठक सञ्चालन गर्ने अनौपचारिक सहमति पनि दुवै दलका नेताहरुबीच भएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार