काठमाडौं, पुस ४ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दैछ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्न लागेको बैठकमा संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले संचार माध्यमलाई बताइन्।
बैठकमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी ओली भने उपस्थित हुने छैनन्।
एपेन्डिसाइटिसको अपरेसनपछि प्रधानमन्त्री ओली बालुवाटार बाहिरका कार्यक्रममा सहभागी भएका छैनन्। स्वास्थ्यकै कारणले गर्दा प्रधानमन्त्री ओली नेकपा स्थायी कमिटी बैठकमा समेत उपस्थित भएका छैनन्।
बैठकको अध्यक्षता उपनेता सुवास नेम्वाङले गर्नेछन्। बैठकमा पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताले सांसदहरूलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीको बिहीबारमात्र मिर्गौलाको नियमित डायलासिस गरिएको थियो ।
दलको बैठक र संसद् अधिवेशनका कारण स्थायी कमिटीको शुक्रबारको बैठक भने स्थगित भएको छ । उपप्रधानमन्त्री तथा पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले पनि आफू जलेश्वर जानुपर्ने भएकाले शुक्रबार बैठक नराख्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेको स्रोतले जनाएको छ ।