अमेरिकि राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  516 पटक हेरिएको

काठमाडौं, पौष, ३ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट हिजो पारित भएको छ ।

ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बुधबारदेखि बहस चलेको थियो । बहसपछि नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको छ । महाभियोगका लागि २१६ मत आवश्यक पर्नेमा त्यस भन्दा १४ मत बढी परेको हो ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिएपछि शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाभियोग लागेको बताएकी छन् ।

तल्लो सदनबाट महाभियोग लाग्ने ट्रम्प अमेरिकाका तेस्रो राष्ट्रपति हुन् । अब यसबारे माथिल्लो सदनले छिनोफानो गर्नेछ । माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुको बहुमत छ ।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप लागेको छ । पूर्व उपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । यसबारे विभिन्न सुनुवाइ गरेको तल्लो सदनले मतदान मार्फत ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको हो ।अन्तिम फैसला भने माथिल्लो सदनले बहुमतबाट गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार