रुपन्देहीमा चार्जिङ सुविधायुक्त नमूना बसपार्क बनाउने तयारी

बसपार्कको आर्किटेक्ट डिजाइन तयार

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1070 पटक हेरिएको

बुटवल, पौष २ ।

प्रदेश ५को अस्थायी राजधानी रुपन्देहीका बसपार्कहरु जीर्ण र साँघुरा भएकाले तिलोत्तमा नगरपालिकाले प्रदेशस्तरको अत्याधुनिक बसपार्क बनाउने तयारी गरेको छ । विद्युतीय गाडीहरु चार्ज गर्न सकिने र डिजिटल प्रविधियुक्त यो बसपार्क झण्डै २० बिघा जग्गामा फैलिने जनाएको छ ।

प्रस्तावित अत्याधुनिक र सुविधा सम्पन्न बस टर्मिनल बुटवल-भैरहवा सडक खण्डको पत्थरडाँडा चोकबाट ६ किलोमिटर पश्चिममा पर्दछ । बसपार्क बनाउने भनिएको जग्गा तिनाउ नदी किनारको नदी उकासि तयार गरिएको सार्वजनिक जग्गा हो ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने समय नजिकिँदै गएको र भविष्यमा बन्न सक्ने मेगासिटीलाई मध्यनजर गरी अन्तर्राष्ट्रियस्तरको सुविधायुक्त बस टर्मिनल प्रस्ताव गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

चालक र सहचालकलाई रिफ्रेस सेन्टर, यात्रुलाई आराम कक्ष अत्याधुनिक बसपार्कको आर्किटेक्ट डिजाइन तयार

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ र १४ मा पर्ने टिकुलिगढमा प्रस्तावित प्रादेशिक बस टर्मिनलको आर्किटेक्ट डिजाइनसमेत तयार भइसकेको छ । नगरपालिकाले प्रदेश सरकारलगायत सरोकारवाला निकायसँग छलफलपछि बस टर्मिनलको आर्किटेक्ट डिजाइन तयार पारेको हो ।

काठमाडौंको डेकोर स्टुडियोले एक महिना समय लगाएर आर्किटेक्ट डिजाइन तयार पारेको इन्जिनियर डानकिङबहादुर भुजेलले बताए । इन्जिनियर भुजेलका अनुसार यो डिजाइन अनुसार बस टर्मिनल बनेमा नेपालकै अत्याधुनिक र पहिलो सुविधासम्पन्न डिजिटल प्रविधियुक्त हुनेछ । हालसम्म नेपालमा आधुनिक र प्रविधियुक्त बसपार्क बनेका छैनन् ।

प्रस्तावित बस टर्मिनलको डिजाइनमा एक पटकमा तीन सय वटा बस पार्किङ गर्न सकिन्छ । विद्युतीय बस र कारलाई लक्षित गरी चार्जिङ स्टेशन पनि बनाइने छ ।

यस्तै यात्रुहरु आराम गर्न र आवश्यक परे बास बस्न मिल्ने गरी टर्मिनलभित्रै ३० वटा कोठासहितको लज (डर्मिटोरी) पनि हुने छ । डर्मिटोरी रुमहरु एक जनादेखि १५ जनासम्म बस्न मिल्ने गरी विभिन्न स्तरका हुनेछन् ।

चालक र सहचालकहरुका लागि आराम कक्ष र रिफ्रेस सेन्टरसमेत बसपार्कभित्रै हुनेछ, जहाँ एक पटकमा ३० जना चालक र सहचालक अट्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार