काठमाडौं, पुस २।
प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सम्भावित ‘दुर्घटना’ तत्काललाई टरेको छ । तर, राजनीतिक विवाद भने कायमै छ ।
प्रधानमन्त्री ओलीले पार्टीमा समेत परामर्श नगरी संवैधानिक परिषदका अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएका थिए । पार्टीभित्र र बाहिर चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले भने विवादास्पद अध्यादेशअनुसार प्रधानान्यायाधीश र राष्ट्रियसभा अध्यक्षको उपस्थितिमा संवैधानिक परिषदको बैठकसमेत राखेका थिए ।
जबकि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिन माग गरेका थिए भने विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा पनि परिषदको बैठकमा गएका थिएनन् ।
ओली कमरेडलाई यिनीहरुले के गर्छन् र ? भन्ने लागेको थियो । नेताहरु अधिवेशन माग गर्दै शीतलनिवास पुगेपछि केसम्म गर्न सक्दारहेछन् भन्ने थाहा भयो अध्यादेश आएको भोलिपल्ट बुधबार दिउँसो १ बजे स्थायी कमिटीको पूर्वनिर्धारित बैठक थियो ।
बैठकभन्दा केही अगाडि प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेटे । प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको योजना भने अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बैठकमै राखेर अध्यादेशबारे छलफल गर्ने र फिर्ता लिन सरकारलाई निर्देशन दिने थियो ।
तर, ओलीले कुनै हालतमा अध्यादेश फिर्ता नलिने र प्रचण्डले पार्टीमा पेश गरेको प्रस्ताव (ओलीको भाषामा लान्छनापत्र)फिर्ता नभएसम्म पार्टीको बैठकमा समेत नआउने भनेर प्रचण्डलाई जवाफ फर्काए । तर पछी दुई अध्यक्षको संवादपछी नेकपाको स्थायी समितिको बैठक बस्यो र सरकारले जारी गरेको अध्यादेश फिर्ता र नेकपाका नेता भीम रावल र पम्फा भुसालले राष्ट्रपति कार्यालयमा पेश गरेको पत्र पनि फिर्ता लिने सहमति भएको स्थायी कमिटीका सदस्यहरूलाई जानकारी गराउदई बैठक सकिएको थियो ।
प्रचण्ड-माधवको काउन्टर ८३ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा
अध्यादेश फिर्ता नलिने र पार्टी बैठकमा पनि नआउने ओलीको अडानपछि प्रचण्ड र नेपालले काउन्टर दिए, संसदको विशेष अधिवेशन बोलाउने समावेदनबाट ।
अध्यादेशबारे छलफल गर्न संसदको विशेष अधिवेशन माग गर्ने समावेदन दिन नेकपाकै ८३ सांसदको हस्ताक्षर बोकेर भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगे । यसबारे प्रचण्ड(नेपाल समूहकै कतिपय स्थायी कमिटी सदस्यहरुलाई समेत पत्तो थिएन ।
पार्टीकै नेताहरु विशेष अधिवेशन माग गर्दै शीतलनिवास गएको सूचना राष्ट्रपति कार्यालयबाट बालुवाटार पुग्यो । यो खबर प्रधानमन्त्री ओलीका लागि निकै ठूलो झड्का थियो ।
‘ओली कमरेडलाई यिनीहरुले के गर्छन् र ? भन्ने लागेको थियो । नेताहरु अधिवेशन माग गर्दै शीतलनिवास पुगेपछि केसम्म गर्न सक्दारहेछन् भन्ने थाहा भयो’ एक स्थायी कमिटी सदस्य भन्छन्, ‘हिजोसम्म उहाँले टाउकामा र अरुले जिउमा हान्दै आएका थिए । आज अर्को पक्षले टाउकोमै बजारेपछि ओलीजीको चेत खुल्यो होला ।
आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अध्यादेश आएपछि मंगलबार बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक नियुक्तिका लागि कुनै निर्णय नगरेको जानकारीसमेत गराएका थिए । स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्नेगरी स्थगित भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पूर्व निर्धारित पुस ५ गतेको केन्द्रीय समिति बैठक भने पुस १० गतेसम्मका लागि सरेको छ ।