लोकतन्त्र नआएको भए रवीन्द्र मिश्र बीबीसीमा समाचार पढिराखेको हुन्थ्यो-मन्त्रि भट्टराई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1148 पटक हेरिएको

पोखरा, मंसिर २९ ।

पोखरमा अहिले आठौँ संस्करणको आईएमई साहित्य महोत्सव चलिरहेको छ । उक्त साहित्य महोत्सवमा नेपालका राजनितिक, सामाजिक ब्यक्तित्व, चिकित्सक र पत्रकारहरुको बिबिध पक्षमा रहेर अन्तरक्रिया चलिरहेको छ । पोखरामा जारी आठौँ संस्करणको आईएमई साहित्य महोत्सवको तेस्रो दिनको पहिलो सेसन “अबको नेतृत्व कस्तो” रहेको थियो । उक्त कार्यक्रममा सहभागि भएका नेताहरुले सहभागि जनताहरुको जवाफ दिएका थिए ।

वक्ताको रुपमा नागरिक उडड्यन, पर्यटन तथा संस्कृती मन्त्री योगेश भट्टराई, प्रतिनिधि सभा सदस्य गगन थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र सहभागी भएका थिए । नयाँ पत्रिकाका सम्पादक उमेश चौहानले उक्त कार्यक्रममा सहजीकरण गरेका थिए । अहिलेको राजनीतिक परिस्थितिदेखि लिएर चर्चामा रहेको रियालिटी शोबाट नेता जन्माउने प्रश्नोत्तर पनि सेसनमा चलेको थियो ।

सहभागीले गगन थापालाई प्रश्न साध्दै, ‘हिजो गिरिजाको विरुद्ध औँला ठड्याएर बोल्ने गगन थापाहरु आज शेरबहादुरको बचावट गर्दै हिँड्दैछन, यसको उत्तर चाहियो ।’ सो प्रश्नको जवाफमा थापाले “मेरो पार्टी सभापतिलाई जहाँनेर बचाउनुपर्ने हो त्यहाँ निर बचाउँछु, जहाँ निर सोध्नुपर्ने हो त्यहाँ निर सोध्छु, मेरो क्षमताले भ्यायो भने समय आउँदैछ बदल्छु,”  नेपाली कांग्रेसका युवा नेता गगन थापाले जवाफ दिएका थिए ।

‘सामाजिक आन्दोलनबाट आएका मान्छेहरुलाई पनि पार्टीमा लाने, प्रशिक्षित गर्ने र भोलि नेतृत्व गर्ने बनाउनका निम्ति बरु नर्सरीहरु नयाँ खोज्नुपर्छ’ गगन थापा ।

२०७४ को चुनावमा एकीकरण भएर चुनावमा होमिएका साझा र विवेकशीलको फुटको कारणबारे मिश्रलाई उपस्थित रहेका जनताले प्रश्न सोधिएको थियो । 

मिश्रले जवाफ दिए, “हामीलाई ठेस लागेको छ र पनि हामी हिँडिरहेका छौँ । सबै ढोका बन्द भइसकेको छैन । पुराना राजनीतिक दलहरुले विगतमा कतिचोटि जुटे र फुटे भनेर जनता निराश भएका होइनन् । उनीहरुले डेलिभर गर्न सकेनन् भनेर निराश भएका हुन् । यात्राको क्रममा कहिलेकाहिँ ठेस लाग्छ, तर ठेस लागेकोबाट हामीले शिक्षा लिएर उभिएर हिँड्दै छौँ ।”

‘अहिले राजनीतिक नेतृत्वको एक वर्गले यसरी सम्बन्ध जोडेको छ, सामान्य नागरिकले त्यो राजनीतिक दलसँग जोडिएन भने वृत्ति विकास नै हुँदैन भन्ने ठान्छ’ रवीन्द्र मिश्र ।

कर्मचारीदेखि प्रहरी, सेना, न्यायालयमा पनि राजनीतिकरण गरिएको भन्ने प्रश्न नागरिक उडड्यन, पर्यटन तथा संस्कृती मन्त्री भट्टराईलाई सोधिएको थियो । उनले चिनियाँ सेनाको उदाहरण दिँदै भने, “एकदुई शब्दमा के भन्छु भने १९८० अगाडि त्यही सेना हो जसले आफैँलाई ध्वंस गर्न हिँड्यो । देङ स्याओ पिङको नेतृत्वपछि त्यही सेना हो जसले चीनलाई बनाउन हिँड्यो । कसरी चलाउनुहुन्छ भन्ने कुरा मेजर हो ।”

अहिले सामाजिक सञ्जालमा बहस र चर्चा भइरहेको एउटा रियालिटि शो ‘द लिडर’ कार्यक्रमलाई पनि योगेश भट्टराईले व्यङ्ग्य हाने, “नेतृत्व प्रक्रियाबाट जन्मिने हो । कुनै जोखाना हेरेर जन्मिने होइन ।”

‘लोकतन्त्रको नयाँ मैदान बनाउन नसकेको भए गगन थापा र म रत्नपार्कमा मसाल जुलुस गरिरहेका हुन्थ्यौं र रवीन्द्र मिश्रजीले बीबीसीमा हाम्रो समाचार पढिराखेको हुनुहुन्थ्यो’ योगेश भट्टराई ।

उनै भट्टराईलाई कालापानी, लिपुलेकलगायत सीमा मिचिएको बारेमा पनि प्रश्न गरे । दर्शकहरुलाई मन्त्रीले जवाफ दिए यसमा सबै दलको एकमत छ । राष्ट्रियताको विषयमा सरकारले कूटनीतिक तवरले वार्ता गरेर समाधान गर्दछ ।

यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसको धारणा दर्शकले सोधे । गगन थापाले जवाफ दिए, “कालापानी पनि नछाड्ने, बालुवाटार पनि नछाड्ने, गोकर्ण पनि नछाड्ने, कालापानीको बारेमा सरकारलाई खबरदारीसँगै मद्धत गर्ने हो । बालुवाटार र गोकर्ण जस्तो ठाउँमा सरकारसँग भिड्ने हो ।”

उपस्थित दर्शकले मिश्रलाई प्रश्न गरे– तपाईँको पनि कोट मैलो देखिन लाग्यो नि ? 

मिश्रले भने, “तपाईँ पनि पुरानै जस्तो हुन लाग्नु भयोकि भन्ने होला भन्दै मिश्रले प्रश्नको उत्तर थालनी गर्दै भने हो पोखरीमा फालेको फोहोर सफा गर्न भनेर पसेको हो, मैलो लागेको छ । पोखरी सफा गरेर निस्कने हो ।” उनको आशय थियो पुरातन सोच बिचार रहेको पार्टी र जनताको सोच बिचार र समाज भित्र रहेको बिकृति बिसङ्गतिको अन्त्य गर्दै आजको नयाँ प्रबिधि सहितको नयाँ युगको थालनी गर्न हिडेका हामिलाई शुरुमा जनताले बिश्वास नगरे पनि अन्त्यमा जनताको बिश्वास जित्दै देशको भविष्य परिवर्तन गर्न हामि निरन्तर लाग्नेछौँ भन्दै जवाफ दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार