
पोखरा, मंसिर २९ ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन् । अरुणालाई शनिबार टाइगर ग्रुप अफ पोखराले नगद १ लाख रुपैया सहित सम्मानित गरेको हो ।
सम्मान समारोहमा ज्ञानुबाबा स्कुल, पोखराका भलिबल प्रशिक्षक र समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । सम्मानित भएपछि अरुणाले यो सम्मानले आफुलाई खेलप्रतिको जिम्मेवारी बढेको र खेलमा झनै लाग्न प्रेरित गर्ने बताएकी छिन् । अरुणाकै कप्तानीमा नेपालले नेपाली भलिबल इतिहासमा ऐतिहासिक सफलता हात पारेको थियो ।

नेपालले कार्तिक अन्तिम साता बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा च्याम्पियन बन्दा अरुणाले नेपाली टोलीको कप्तानी गरेको थियो । जुन नेपाली भलिबल इतिहासकै पहिलो उपाधि हो ।

अरुणाकै कप्तानीमा नेपाली महिला भलिबल टोलीले नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदक जित्न सफल भएको थियो । फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएपछि च्याम्पियन बन्नबाट चुकेको थियो । अरुणाले सेन्ट्रल जोनबाटै नेपाली महिला भलिबल टोलीको कप्तानी सम्हालेकी थिइन् ।
