नेकपाको स्थायी कमिटी बैठक शुरू, प्रचण्डको राजनीतिक प्रतिवेदन माथि छलफल हुने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  472 पटक हेरिएको

काठमाडाैं, मंसिर २९ ।

प्रमुख सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ । अघिल्लो वर्ष मंसिर २९ गतेयता नेकपा स्थायी कमिटी बैठक पहिलोपटक बसेको हो । ठ्याक्कै एक वर्षपछि बसेको बैठकको अध्यक्षता पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यसका अलावा विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक र नेपाल भारत सीमा विवादका विषयमा पनि बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजै बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीका लागि पाँच बुँदे कार्यसूची तय गरेको थियो ।

नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली लगायत नेताहरूसँग छलफल गरी स्थायी कमिटीमा पेश गर्ने दस्तावेज तयार गरेका हुन् । स्थायी कमिटी बैठकमा अध्यक्ष ओली भने स्वास्थ्यका कारण सहभागी छैनन् ।

यस अघि मंसिर २३ को सचिवालय बैठकले पार्टीका सदस्यको अभिलेखीकरण, नवीकरण र प्रशिक्षण अभियान सञ्चालनबारे संगठन विभागले दिएको कार्ययोजनालाई अघि बढाउनेलगायतका निर्णय गरेको थियो ।

उक्त बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने लगायत यस अघि सचिवालयले गरेका निर्णयलाई समावेश गरी विधान संंशोधनको प्रस्ताव आजको स्थायी कमिटी बैठक र आवश्यकता अनुसार केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने निर्णय पनि गरेको थियो । 

यसैगरी केन्द्रीय निकाय र विभागका सदस्यको पूर्णताका लागि सम्बन्धित प्रमुख र उपप्रमुखले सात दिन भित्र महासचिव मार्फत प्रस्ताव पेश गर्न सोही बैठकले आग्रह गरेको थियो । तर सचिवालयको आजको बैठकमा स्याथी कमिटीको एजेण्डा बाहेक अरू विषयमा प्रवेश नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार