काठमाडौं, मंसिर २४ ।
फुटबलको स्वर्णसँगै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुखद समापन गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भब्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएकी छन् ।
सागमा नेपालको अन्तिम स्वर्ण भने पुरुष फुटबलले दिलायो । समापन समारोह अघि भएको फुटबल खेलमा नेपालले भुटानलाई २–१ गोलले हराएको थियो । यससँगै १३ औं सागमा नेपालको स्वर्ण पदक संख्या ५१ पुगेको छ ।
मंगलबार नै नेपालका लागि बक्सिङमा सनिल शाहीले अर्को स्वर्ण पदक दिलाएका थिए ।
महिला फुटबल र भलिबलमा रजत जितेको नेपालले क्रिकेटको महिला र पुरुष दुवैमा कांस्य पदक जितेको छ । पुरुष भलिबलमा भने नेपालले पदक जित्न सकेन ।
यस्तै सागमा समावेश २६ खेलमध्ये नेपालले २५ मा पदक जित्यो भने सुटिङमा भने पदकविहीन रह्यो । मार्सल आर्ट्समा नेपालले यस पटक सर्वाधिक ३२ स्वर्ण जित्यो । जसमा तेक्वान्दोबाट सर्वाधिक १२ कराँतेबाट १०, उसुबाट ५, बक्सिङबाट ३ र जुडोबाट २ छन् । बक्सिङमा पाएको स्वर्ण २० वर्षपछि हो । भारोत्तोलनमा सन् २००६ पछि पहिलो पटक जितेको हो ।
यस्तै नेपालले साइक्लिङ, गल्फ, ट्रायथलन र कुस्तीमा पहिलो पटक स्वर्ण जितेको छ ।
१३ औं सागमा नेपाली खेलाडीहरुले कीर्तिमान पनि बनाएका छन् । पौडीकी गौरिका सिंहले चार स्वर्ण जितिन् । उनले जितेको स्वर्ण सागको व्यक्तिगत इभेन्टमा पहिलो स्वर्ण हो । साथै एक संस्करणमा चार स्वर्ण उनको अर्को कीर्तिमान हो ।
कराँतेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एकै सस्करणमा दुई स्वर्णको कीर्तिमान बनाएका छन् ।
ट्रायथलनमा सोनी गुरुङ, १० हजार दौडमा सन्तोषी श्रेष्ठ, कुस्तीमा संगीता धामी र गल्फमा सुवास तामाङले पहिलो स्वर्णको इतिहास रचेका छन् । यस्तै भारोतोनल महिलामा सञ्जु चौधरी, बक्सिङ महिलामा मिनु गरुङले पहिलो स्वर्ण जितिन् । नेपालले भलिबल र कबड्डीको महिलामा पनि पहिलो पटक कांस्य जितेको छ । यसैगरी महिला क्रिकेटमा अञ्जली चन्दले २.१ ओभरमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान समेत बनाएकी छन् ।
आज दशरथ रंगशालामा भएको समापन कार्यक्रमले पनि सागलाई छुट्टै रौनक दिएको थियो । नेपाली आकाशमा नेपालको झण्डा र देशको नक्सा सहित विश्व शान्तिको दुत गौतम बुद्धको आकृति सहितको प्रदर्शनले पनि नेपाली दर्शक देखी विश्वको ध्यान केन्द्रित गर्न सफल भएको छ । सागको सफलता संगै नेपाल सरकार भूकम्प पछीको पुनर्निर्माणमा पनि सफल भएको संदेश दिएको छ । १३ औ सागको समापन भने नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्रि ईश्वर पोखरेलले सबै खेलाडीहरूलाई बधाई दिदई समापन गरेका थिए । १४ औ साग भने पाकिस्तानले गर्ने पहिले नै घोषणा भईसकेको छ ।