ट्रकको ठक्करबाट बालिका घाइते भएपछि कोहलपुर तनावग्रस्त

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  836 पटक हेरिएको

कोहलपुर, मंसिर २२ ।

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ ।

आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर-१० की प्रकृति चन्द गम्भीर घाइते  भएकी छिन्। उनको अस्पतालमा उपचार भईरहेको छ ।

स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ । यद्यपि अहिले प्रहरीहरु सडकमा देखिँदैनन् । सडकमा विद्यार्थी र स्थानीयवासी मात्र छन् । प्रहरीले सडक खुलाउने प्रयास नगरेको भन्दै अलपत्र परेका यात्रुहरु निराश छन् ।

आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको छ । दर्जनौं गाडीहरु बीच सडकमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् ।

प्रहरी नै विद्यार्थी र स्थानीयवासीकाे घेराबन्दीमा परेको छ । प्रहरीमाथि उनीहरूले ढुंगामुढा गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको छ भने केही सेल अँश्रु ग्यास प्रहार गरेको छ । स्थानीयको ढुङगा प्रहारबाट डिएसपि सहित दर्जनौ प्रहरी घाईते भएको छ । एक्कासी प्रहरीतर्फ ठूलो संख्यामा प्रदर्शनकारी आएपछि प्रहरीले बल प्रयोग गर्यो। उल्टै प्रहरीले बल प्रयोग गरेपछि विद्यार्थी र स्थानीयहरु प्रहरीमाथि खनिए।

अवस्था प्रहरी र प्रदर्शनकारीबीच भिडन्तको बन्यो। यो घानमा परे कलिला विद्यार्थी। प्रहरीले कलिला विद्यार्थीमाथि निर्घात लाठी चार्ज गरेको छ। प्रहरीले अश्रृ ग्यास हानेको छ। यतिले नपुगेर प्रहरीले गोलीसमेत चलायो। घटनामा दर्जनौ विद्यार्थी र स्थानीय घाइते भएको बाँकेका पत्रकारहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार