जापान, मंसिर २२ ।
नेपाल सरकारको नीति अनुसार नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानमा तयारी तीब्र पारिएको छ । नेपालीहरुको उल्लेख्य बाहुल्यता रहेको टोक्यो र फुकुओकामा भ्रमण बर्षको तयारी तीब्र पारीएको हो । टोक्योमा महामहिम राजदुत प्रतिभा राणको संयोजकत्वमा मुल आयोजक समिति र उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको संयोजकत्वमा ७ सदस्यीय सचिवालयको गठन गरी भ्रमण बर्षको प्रचार प्रसारमा जुटेका छन्, भने जापान स्थित फुकुओकामा बसोबास गर्ने नेपालीहरुको सक्रियतामा जापान फुकुओकामा पनि भ्रमण बर्षलाई लक्षित गर्दै नेपाली र जापनिज नागरीकहरुको संयुक्त अभिनय रहने गरी तोनारीनो मासाला (छिमेकीको मसला) नामक ड्रामा तयारीमा जुटेका छन् ।
जापानको टोक्योमा भ्रमण बर्ष २०२० प्रचारप्रसारको लागि मुल आयोजक समिति र सचिवालय गठन ।
भ्रमण वर्षको प्रवर्दनको लागी जापान स्थित नेपाली राजदूतावासको कार्यालयमा मंगलबार राजदूत प्रतिभा राणाको अध्यक्षतामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान, पत्रकार महासंघ, जापान स्थित बिभिन्न संघ संस्था प्रमुख र बुद्दीजिवीको उपस्थितिमा बैठक बसी आवश्यक तयारी तीब्र पारिएको हो ।
नेपाल सरकारको भ्रमण वर्ष २०२० मुलआयोजक समिति र परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम जापानमा पनि दूतावास र गैरआवासीय नेपाली संघ बीच सहकार्य गर्दै उक्त अभियान सफलताका निम्ति बिभिन्न चरणमा छलफल र बैठक हुँदै आएका छन् । यसै सिलसिलामा राजदूतको संयोजकत्वमा मुलआयोजक समिति बन्ने निर्णय पहिलो बैठकमै भैसकेको छ भने दोश्रो बैठकले ७ सदस्यीय सचिवालयको पनि गठन गरेको छ जसअनुसार :-
संयोजक -कृष्ण चन्द्र अर्याल (उपनियोग प्रमुख, नेपाली राजदूतावास जापान ), सदस्य -सचिव जनक बिक्रम शाही ( महासचिव, एनआरएनए जापान), सदस्य- देविलाल भण्डारी (अध्यक्ष, एनआरएनए जापान), सदस्य -अनिता गुरुङ (बरिष्ठ उपाध्यक्ष एनआरएनए जापान), सदस्य -मोहन घले (सल्लहाकार एनआरएनए जापान तथा अध्यक्ष पत्रकार महासंघ जापान), सदस्य -बिकाश श्रेष्ठ (सल्लहाकार एनआरएनए जापान तथा अध्यक्ष कास्की पोखरा समाज), सदस्य -दिपक कंडेल (युवा संयोजक एनआरएनए यसिया प्यासिफिक ) चयन गरेको छ ।
बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जस अनुसार भ्रमण वर्ष भरीनै विभिन्न योजना बनाइ भ्रमण वर्ष प्रवर्दन गर्ने निणर्य अनुसार जनवरी ७ मा जापानमा पनी यसको उद्दघाटन राजदूत निवासको सभाहलमा गर्ने जसको लागी सक्दो जापानीज पाहुनाहरुलाई निम्तो गर्ने, जापानमा आफ्नो व्यक्तिगत सवारी साधान हुनेहरुले भ्रमण वर्षको स्टिकर आफ्नो साधनमा टासेर प्रचार प्रसारमा सहयोग गर्ने निर्णय समेत गरिएको छ ।
त्यस्तै, सम्भव भएसम्म जापानको टोक्यो स्थित रहेका नेपाली रेस्टुरेन्ट व्यवसायी हरुले आफ्नो रेस्टुरेन्टमा हप्तामा एक दुई दिन सबै स्टाफलाई भ्रमण वर्ष छापीएको टिशर्ट लगाउन लगाउने र नेपालको पर्यटन सम्बन्धी जानकारी मुलक भिजियुल सामाग्रीहरु रेस्टुरेन्टको टिभी बाट प्रसारण गर्ने, जापानमा हुने हरेक संघ संस्थाका कार्यक्रममा भ्रमण वर्षको लोगो लगायत भ्रमण वर्ष सम्बन्धि छोटो प्रचार प्रसार गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
बैठकले भ्रमण वर्ष उद्घाटनको दिनको लागी नेपाली सांस्कृतिक कार्यक्रम, नेपाली परिकारहरुको व्यवस्था गर्ने निर्णय गरेको छ र मूल आयोजक समितिमा क्रमस अन्य संघ संस्था प्रमुख, बुद्दिजिवि, बिद्यार्थी, ब्यावसायीहरुलाई पनी जोडदै प्रचार प्रसारमा लाग्ने निर्णय गरिएको एनआरएनए जापानका महासचिव जनकविक्रम साहीले जानकारी गराउनु भयो ।
जापानको फुकुओकामा भ्रमण बर्ष २०२० को प्रचारप्रसार ब्यापक
जापानको फुकुओकामा पनि नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउनको लागि बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । यसै सन्दर्भमा फुकुओमा रहेका नेपालीहरुको सक्रियतामा जापान स्थित फुकुओकामा रहेको NHK टेलिभिजनसँगको सहकार्यमा नेपाली र जापनिजहरुको संयुक्त अभिनय रहने गरी तोनारीनो मासाला (छिमेकिको मसला) नामक टेलिचलचित्रको समेत निर्माण शुरु गरेको छ । जापानमा भ्रमण बर्ष २०२० को प्रचारप्रसारमा फुकुओका स्थित नेपाली समुदाय अग्र स्थानमा रहेको छ ।
जापानको चर्चित टेलिभिजन NHK टेलिभिजनले तोनारीनो मासारा (छिमेकी को मसला) शिर्षकको नाटक २०२० फेब्रुअरी २८ तारिख साझ ७:३० बजे प्रशारण गर्ने लक्ष्य सहित तयारी गरिरहनु भएको छ। उक्त नाटक ७२ मिनेटको हुने छ। नाटक जापानमा जापनिज नागरिकहरु र नेपाली नागरिकहरुको सम्बन्धलाइ चित्रण गर्ने खालको रहेको छ।नेपालीहरु जापानमा एक असल छिमेकीको रुपमा बसोबास गर्दै आएको र सहयोगी रहेको साथै नेपाली र जापनिज नागरिकहरुको सुमधुर सम्बन्ध अझ मजबुद बनाउने र जापनिज र नेपालीको कला, संस्कृति, भेषभुषा र मौलिकतालाई एक आपसमा साटासाट गरी Cultural Exchange को माध्यमबाट दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले उक्त टेलिचलचित्रको निर्माण गरिएको ड्रामा निर्माण कमिटिका नेपाली संयोजक रामकृष्ण श्रेष्ठले जानकारी गराउनु भयो ।
उक्त टेलिचलचित्र निर्माणमा फुकुओकामा लामो समय बसोबास गर्दै आउनु भएका नेपाल फेस्टिबल संरक्षण समितिका संयोजक समेत रहनु भएका हालका एनआरएनए जापानका केन्द्रिय सदस्य रामकृष्ण श्रेष्ठ र फुकुओका नेपाल सोसाईटिका पूर्व अध्यक्ष दिपक देबकोटाको प्रमुख भुमिका रहेको छ ।
एनआरएनए क्युस्यु कार्यसमिति र फुकुओका स्थित रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा नेपाल भ्रमण बर्ष २०२० को पोष्टर र पम्प्लेट बितरण गरि जापनिज नागरिकहरुलाई नेपाल भ्रमणको निम्तो समेत दिईएको थियो । उक्त ड्रामा २०२० फेब्रुअरी २८ तारिख साझ ७:३० बजे प्रशारण हुने र प्रसारण पश्चात नेपाल भ्रमण २०२० लाई महत्वपुर्ण योगदान पुग्ने एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमितिका अध्यक्ष देबराज उप्रेतीले बताउनु भयो ।
नेपाल र नेपालीहरुको बिषयलाई यति धेरै महत्व दिएर ड्रामा निर्माण गरेको, ड्रामा भित्रको महत्वपुर्ण सिन नेपाल फ़ेस्टिवेल २०२० को छायंकनको सिन फुकुओकाको ओहासी स्टेशनमा खिच्ने क्रममा भिजीट नेपाल २०२० को प्रचार प्रसारको निमित्त बुथ राख्ने अबसर प्रदान गरेको र नेपाल सरकारको प्राथमिकतामा रहेको भ्रमण बर्ष २०२० लाई प्राथमिकताका साथ जापानको राष्ट्रिय टेलिभिजन च्यानलबाट प्रसारण गरी नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउन गरेको सहकार्य र सदभावको उच्च मुल्याङ्गन गर्दै NHK टेलिभिजन परिवारलाई बिषेश धन्यबाद समेत ब्यक्त गरेका छन ।
उक्त भ्रमण बर्ष २०२० को छायाङ्कनको क्रममा नेपाली र जापनिज नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यस बर्ष नेपाल फेष्टिबल २०२० हुने नहुने निश्चित नभएको अवस्थामा उक्त कार्यक्रमले नेपाल फेस्टिबलको समेत झल्को मेटाएको थियो । नेपाली समुदायको प्रमुख बाजा पन्चेबाजा सहित आ–आफ्नो भेषभुषामा उपस्थित भएका नेपालीहरुले छायाङ्गन कै क्रममा भएपनि जापनिज नागरीहरुलाई मनोरन्जन र कार्यक्रममा आकर्षण गर्न सफल भएको थयो । फुकुओकामा रहेका नेपाली रेष्टुरेन्टहरुले आ–आफ्नो रेष्टुरेन्टको स्टल राखी स्वादिष्ट नेपाली परिकार बनाई जापनिज नागरिकहरुलाई खुवाएका थिए ।