काठमाडौँ , मंसिर १७ ।
सुनिता महर्जन(कराते खेलाडी)
१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सुनिता महर्जनले मंगलबार करातेमा स्वर्ण पदक जितेकी छन्। नेपाल पुलिस क्लबमा आवद्ध सुनिताले ६५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन्।
उनले पाकिस्तानकी कुल्सुमलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। राजधानीको मनमैजु माइती भएकी सुनिताको घर सीतापाइलामा हो। २७ वर्षीया सुनिता विगत ७ वर्षदेखि पुलिस क्लबमा आवद्ध भएर करातेमा संलग्न छन्।
नेपाल पुलिस क्लबका हेड कोच राजेश श्रेष्ठले सुनिताले आफ्नो सपना पूरा गरेर सबैलाई खुसी बनाएको प्रतिक्रिया दिए। ‘स्वर्ण जितेपछि सुनिता खुसी छन्। उनले आफ्नो सपना पूरा गरेकी छन्’, उनका प्रशिक्षक श्रेष्ठले भने, ‘हामीलाई पनि खुसी बनाएर उनले देशको नाम राखेकी छन्।’ सुनिता सात वर्षअघि ९ महिने तालिम पूरा गरेर नेपाल प्रहरीमा प्रवेश गरेकी हुन्।
सुनिताले स्वर्ण जिते लगत्तै उनका बुबा नाती महर्जनका आँखामा आँसु रोकिएनन्। स्वर्ण जितेपछि सुनिताले आफ्नो बुवालाई अँगालोमा बाँधेकी थिइन्। छोरीको अँगालोमा बाँधिएका नातीका आँखामा आँसु थामिएनन्। उनी खुसीका आँसु पुछिरहेका थिए। बुवाको आँखामा आँसु देखेपछि सुनिता बुवाको अँगालोमै रोएकी थिइन्।
नेपालका लागि पहिलो स्वर्ण करातेमै मन्डेकाजी श्रेष्ठले दिलाएका थिए। उनले सोमबार पाकिस्तानकै खेलाडी नाइमातुल्लाहलाई हराएर स्वर्ण जितेका थिए। नेपालले सोमबार मात्र १५ स्वर्ण जितेको थियो ।
आयशा शाक्य(टेक्वान्दो खेलाडी)
१३ औ सागमा तेक्वान्दोकी आयशाले पनि सोमबार नै दुई स्वर्ण जितिन् । एकल र संयुक्त गरी दुई टेक्वान्दो खेलमा सहभागी भएकि आयशा शाक्यले दुई खेलमै स्वर्ण जित्न सफल भएकी थिई । दुई खेलमा सहभागी भई स्वर्ण जीतिसकेपछि खुसीले प्रशिक्षक समेत रहेको श्रीमानलाई अंगालो हालेर रोएकि थिई । उक्त दृश्यले खेल मैदानमा रहेको सबैको ध्यान खिच्न सफल भएको थियो ।
११ औं सागमा स्वर्ण जितेकी उनले पहिलो पटक सागमा समावेश भएको पुम्सेको एकल र टिममा प्रतिस्पर्धा गरेकी थिइन् । र, दुबैतर्फ स्वर्ण पदक जित्न सफल भएकी थिई ।
दुई सन्तानकी आमा आयशा भन्छिन्, दुई बच्चाको लागी मेडल जितेको जस्तो भयो ।
महिला भलिबल खेलाडी
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल महिला भलिबलमा रजतमा सीमित बनेको छ। मंगलबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको फाइनल भिडन्तमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि नेपाल रजतमा सीमित भएको हो।
नेपालले पहिलो सेट १७–२५ ले गुमायो। दोस्रो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्यो। नेपालले दोस्रो सेट २५–२३ ले जित्यो। तेस्रो सेटमा पनि नेपालले २५–२१ ले जितेर खेलमा २–१ को अग्रता लियो। चौथो सेटमा भारतले २५–२१ ले जितेर खेल २–२ को बराबरीमा ल्यायो । निर्णायक पाँचौ सेटमा भारतले १५–८ ले जित्दै स्वर्ण हात पार्यो।
निकै नै रोमाञ्चक खेलमा पराजित भएपछि नेपाली खेलाडी भावुक बनेका थिए। महिला भलिबलमा जिति सकेको स्वर्णबाट हात झिक्नु पर्दा सहभागी सम्पूर्ण खेलाडीहरू रोएका थिए ।