जापानको ओसाका पछी टोक्योको नारीता उडान भर्ने तयारीमा नेपाल एअरलाईन्स

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1089 पटक हेरिएको

काठमाडौं, मंसिर १७ ।

नेपाल वायुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्युल र स्लट) को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरी (पुसको दोस्रो साता) देखि जापानको नारितामा उडान शुरू गर्ने तयारीमा छ । निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुई उडान गरिरहेको छ ।

ग्राउन्ड ह्यान्डलिङ सेवा नपाउँदा निगमको नारितामा विमान सेवा सञ्चालन गर्ने योजना अनिश्चित बनेको थियो । निगमले अहिले जापान सिभिल एभिएशन ब्युरो अन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेको छ ।

अति व्यस्तताको कारण निगमलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिन असमर्थता जनाएको उक्त संस्था नेपालस्थित जापानी दूतावासको समन्वय तथा जापानस्थित नेपाली दूतावासको सक्रियतामा यो सेवा दिन सहमत भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताए । उनका अनुसार निगम र जापानको जापान सिभिल एभिएशन ब्युरो (जेक्याब) बीच हालै यी विषयमा सम्झौता भएकाले निगमले तोकेकै समयमा नारिता उडान गर्ने छ ।

निगमले शुरूमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कान्साइ अन्तरराष्ट्रिय विमानस्थलमा मंगलवार, बिहीवार र शनिवार गरी साताको तीनओटा उडान गर्ने तालिका बनाएको थियो । तर, यात्रु अभाव भएपछि हाल साताको २ दिन मंगलवार र शनिवार मात्र ओशाकामा उडान गर्दै आएको छ ।

‘व्यापारिक दृष्टिले ओशाकाभन्दा नारिता राम्रो भए पनि केही प्राविधिक कारण निगमले शुरूमा नारिता नगई ओशाका उडान गरेको हो । अब नारिता उडानका लागि सबै तयारी गरिएको छ, अब निगमले तोकिएकै समयमा नारितामा उडान गर्छ,’ उनले भने ।

ओशाकाको तुलनामा नारितामा नेपालीको बसोबास बढी भएकाले पनि नारितामा बजारको समस्या नहुने उनले बताए । यसअघि निगमको वाइडबडीले नारितामा चार्टर प्mलाइट भने गरिसकेको छ । हाललाई नारितामा साताको ३ दिन उडान गर्ने योजना रहेको र बजार विश्लेषण गरी उडान संख्या थप गर्न सकिने उनले जानकारी दिए । ‘नारिता नेपालीको बाक्लो बसाइ रहेको ठाउँ हो । अवस्था हेर्दा दैनिक उडानसमेत गर्न सकिन्छ । तर, अहिले सातामा कम्तीमा तीन उडान गर्ने गरी निगमले योजना बनाएको छ । त्यसको परिणाम हेरेर नयाँ योजना बन्नेछ,’ उनले भने ।

सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको संख्या अपुग भएको भन्दै उडान स्थगन गरेको थियो । त्यो समय निगमले बोइङमार्फत काठमाडौं–साङहाई–ओशाका उडान गर्ने गथ्र्याे । अहिले भने वाइड बडी ए–३३०–२०० बाट भने काठमाडौं–ओशाका सीधा उडान हुन्छ ।

निगमले ओशाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सीट क्षमताको वाइड बडी ए–३३०–२०० मार्फत पहिलो उडान गरिरहेको छ । नेपाल जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार नेपालका विमान सेवा कम्पनीहरूले जापानको हानेडा विमानस्थल बाहेकका सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् ।

निगमले अहिले जापानको ओशाकासहित पुराना गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर र मुम्बई, मलेशियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ, यूएईको दुबई र कतारको दोहामा उडान गर्दै आएको छ । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि हाल दुईओटा वाइड बडी ए–३३० विमान, दुई न्यारो बडी ए–३२० विमान चारओटा विमान छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार