सेयर बजारको निरन्तर ओरालो लाग्नाले हताश बन्दै लगानीकर्ता

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  701 पटक हेरिएको

काठमाडौं, मंसिर, १४ । पछिल्लो समय लगातार सेयर बजार ओरालो लागेपछि लगानीकर्ताहरु हताश बन्दै गएका छन् । आक्कलझुक्कल हरियाली देखिए पनि लामो समयदेखि सेयरबजारमा गिराबट आएको आयै छ ।

यो साताको कुरा गर्ने हो भने पनि गत आइतबारदेखि बिहीबारसम्म भएको कारोबारमा अधिकांश दिन बजार राताम्मे भयो । साताको पहिलो दिन आइतबार नै ओरालो लागेको बजार अन्तिम कारोबार दिन बिहीबार ४.६७ अंकले घट्दा परिसूचक १ हजार १ सय १२ दशमलव ७९ बिन्दुमा खसेको छ । बिहीबार नोभेम्बर महिनाकै अन्तिम कारोबार दिन समेत हो ।

अघिल्लो साता पनि बजारमा सिथिलता नै छाएको थियो । साताको अन्तिम कारोबार दिन ११३५.९५ बिन्दुमा बजार बन्द भएको थियो ।

नोभेम्बर महिनाभरको सेयर कारोबारको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक ३३ दशमलव ३८ अंकले घटेको देखिन्छ । नोभेम्वर ३ तारिखका दिन पहिलो कारोबार सुरु हुँदा ११४६.१७ विन्दुमा रहेको नेप्से परिसुचक महिनाको अन्तिम कारोबार दिन २८ तारिखमा १११२.७९ बिन्दूमा खुम्चिएको छ ।

यसरी बजार लगातार ओरालो लाग्दा सेयर लगानीकर्ताहरुले भने सरकारलाई दोष दिएका छन् । बजार उकास्न सरकारले कुनै रणनीति नबनाइ टुलुटुलु हेरेर बसेको उनीहरुको आरोप छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरलले सेयर बजार धराशयी हुँदा लगानिकर्तामा मनोवैज्ञानिक असर परिसकेको बताउँछिन् । तत्काल बजारमा सुधार ल्याउने र लगानिकर्ताको मनोबल उकास्ने काम सम्बन्धित निकायबाट हुनुपर्नेमा उनले जोड दिइन् ।

‘सम्पत्ती सुद्दिकरणको बिषयलाई सम्बन्धित निकायले बुझाउन नसक्नु तथा लगानिकर्ताको पनि गलत बुझाईको कारण पहिले खुलेर कारोबार गर्नेहरु अहिले हच्किएका छन्,’ पोखरेलले भनिन् । केही समय पहिले आफूहरुले सरकारलाई बुझाएको बजार सुधारका लागी ५८ बुँदेे माग कार्यान्वयन नभएको उनको गूनासो छ ।

पोखरेल भन्छिन्, ‘छिमेकी मुलुक भारत सरकार पुँजी बजारप्रती संवेदनशिल हुँदा सेन्सेक्सले ४०,००० को रेकर्ड बनाइसक्यो । हाम्रो मुलुकमा भने परिस्थिती सहज हुँदाहुँदै पनि सरकारी बेवास्थाको कारण लगानीकर्ताको मनोबल दिन प्रतिदिन कमजोर भइरहेको छ ।’

सेयर लगानीकर्ता दवाव समूहका महासचिव नयन बास्तोला पनि बजार लगातार ओरालो लाग्दा लगानीकर्तामा निराशा छाएको बताउँछन् । उनले भने, ‘मुख्य चाडपर्वपछि खुलेको बजार ओरोलो लाग्नु त्यति स्वभाविक मान्न सकिन्न । कम्पनीहरुले दिने लाभांश पहिलाको भन्दा राम्रो छ र कम्पनीहरुको पहिलो त्रैमासिक रिपोर्ट पनि राम्रै आएको छ । बजार घट्नुपर्ने कुनै कारण छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार