साग छाडेर कतार गइन् तुलसा, सागलाई धोका

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  665 पटक हेरिएको

काठमांडौ, मंसिर १४ ।

१३औँ सागको क्याम्पमै रहेकी एथलेटिक्सकी तुलसा खत्री क्याम्पबाटै भागी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको मुखैमा एथलेटिक्सकी एक खेलाडी क्याम्प छाडेर भागेकी छिन् । आइतबार सागको उद्घाटनको दुई दिनअघि तुलसा खत्री सुटुक्क कतार पुगेकी छिन् । विभागीय टोली नेपाल आर्मीमा आबद्ध रहेकी तुलसा बन्द प्रशिक्षण चलिरहँदा नै भागेको बताइन्छ । साग खेलमा उनले नेपालबाट प्रतिनिधित्व गर्दै चार सय मिटर र चार सय मिटरकै रिले स्पर्धामा प्रतिस्पर्धा गर्ने तयारीमा थिइन् । यसपटक सागमा नेपालले एथलेटिक्सबाट पदक आशा गरेकी खेलाडी तुलसाले गत महिना मात्र चीनमा राष्ट्रिय रेकर्ड राखेकी थिइन् ।

यसैगरी, उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चार सय मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । आठौँ राष्ट्रिय खेलकुदमा उनले निर्धारित दूरी ५९.९१ सेकेन्डमा पूरा गरेकी थिइन् । यही रेकर्डका साथ नै उनी १३औँ सागका लागि छनोट भएकी हुन् । बिहीबार दिउँसो प्रशिक्षणका क्रममा तुलसालाई नदेखेपछि मुख्य प्रशिक्षक चन्द्र गुरुङले खोजी गरे । तर, होटेल तथा अन्य क्षेत्रमा समेत उनी नभेटिएपछि हल्लीखल्ली मच्चियो । 

यसअघि तुलसाले प्रशिक्षक गुरुङलाई बिहीबार बिहान आफू प्रशिक्षणमा आउन नसक्ने जानकारी दिएकी थिइन् । त्यसपछिका प्रशिक्षणमा आफू सहभागी हुने जानकारी प्रशिक्षक गुरुङलाई दिएकी थिइन् । प्रशिक्षक गुरुङले आफ्ना खेलाडी होटेलमै बिहान प्रशिक्षणमा रहेको विश्वासका साथ बसे ।  गुरुङ नियमित प्रशिक्षणमा लागे । होटेलमा तुलसा पक्कै पनि प्रशिक्षणमा रहेको भनी गुरुङलाई विश्वास लागेको थियो । 

तर, दिउँसोको समयमा प्रशिक्षण र होटेलमा तुलसालाई नदेख्दा उनी कहाँ गइन् भन्ने खोजी कार्य भएको हो । त्यसपछि प्रशिक्षकदेखि अन्य खेलाडीले तुलसालाई मोबाइलमा सम्पर्क गर्न खोजे । उनको मोबाइल स्विचअफ थियो । निरन्तर मोबाइलको फोन अफ हुँदा पक्कै ठूलै दुर्घटना घटिसकेको प्रारम्भिक अनुमान भइसकेको थियो । प्रशिक्षक गुरुङले तुलसाकी रुम पार्टनरसँग खेलाडी कहाँ गएको भनी प्रश्न गरे । 

रुम पार्टनरको जवाफ आउँदा प्रशिक्षक गुरुङ झसंग भए । तुलसा प्रशिक्षण छाडेर कतार गइसकेको जानकारी आयो । त्यसपछि प्रशिक्षकलगायत एथलेटिक्स टोली नै स्तब्ध भयो । तत्कालै प्रशिक्षक गुरुङले सम्बन्धित निकायका पदाधिकारीलाई आफ्ना खेलाडी कतार भागेको जानकारी गराए । यता नेपाली टोलीका डेपुटी सेभ द मिसन तथा राष्ट्रिय टोलीका संयोजक रिम रानाभाटले खेलाडी क्याम्पबाट भागेको जानकारी आएको बताएका छन् । ‘प्रशिक्षकबाट खेलाडी क्याम्पबाट भागेको जानकारी आएको छ,’ उनले भने । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार