जापान, ओसाका नोभेम्बर २९ । : जापानको ओसाकास्थित अध्यागमन कार्यालयले तीन नेपालीलाई जापान प्रवेशमा रोक लगाएको छ। यात्रा शंकास्पद देखिएको भन्दै कान्साई अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका अधिकारीले उनीहरूलाई काठमाडौं फिर्ता पठाएका हुन्।
जापान प्रवेश नपाएकामा सिन्धुपाल्चोकका रामकुमार जीसी, काठमाडौंका सुदीप पुडासैनी र ललितपुरका नारायणप्रसाद गौतम छन्। उनीहरू नेपाल एयरलाइन्सको विमानबाट जापान घुम्न हिँडेका थिए। एयरलाइन्सका अधिकारीले तीनै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएको खुलेको छ।
उनीहरूले जापानी दूतावासबाट १५ दिनको ‘सिंगल इन्ट्री’ भिसा पाएका थिए। यही मंसिर ७ गते शनिबार जापान उडेका उनीहरूलाई त्यहाँको अध्यागमनले फिर्ता गरेपछि मंसिर १० मा नेपाल फर्किएका थिए।
अध्यागमन अधिकारीले उनीहरूलाई जापान प्रवेशबाट किन रोक्यो भन्ने विषय खुलेको छैन। यद्यपि, जापानको अध्यागमन तथा शरणार्थी कानुन अनुसार उनीहरूलाई फिर्ता गरेको स्रोतले बताएको छ। जापानमा रहेका केही नेपालीले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेपछि नेपालबाट जानेलाई अध्यामगनका अधिकारीले सोधखोज गर्ने गरेका छन्।
प्रवेशाज्ञा (भिसा) पाउँदैमा सम्बन्धित मुलुक प्रवेश गर्न पाइन्छ भन्ने हुँदैन। भिसा भए पनि शंका लागे सम्बन्धित मुलुकका अध्यामगन अधिकारीले जो कोहीलाई फिर्ता गर्ने अधिकार राख्दछन्। पछिल्लो पटक बिध्यार्थी भिसामा जापान रहेका नेपाली लगायत विभिन्न देशका नागरिकहरूले जापानको नियम पालना नगरेको , नियम भन्दा बढ़ी काम गरेको भन्दै भिसा नदीई देश फर्काईदिने गरेको छ । केही समय अघि मात्र जापानको फुकुओकाको बिभिन्न सेनमोन पढ़ने ५० भन्दा बढ़ी बिध्यार्थीहरूलाई जुम्बि भिसा दिई देश फर्काएको थियो ।
जापान गएपछि नेपाल फर्किने आधार नदेखेपछि उनीहरूले जापान प्रवेश गर्न नपाएको स्रोतले जनाएको छ। जापान छिरेका नेपालीले उद्देश्य अनुरूप काम नगरेपछि त्यहाँको अध्यागमनले नेपाल, बंगलादेश, पाकिस्तान लगायत मुलुकका नागरिकलाई निगरानी बढाएको छ।
काठमाडौंस्थित मुन सन ट्राभल्स एन्ड टुर्सले उनीहरूको हवाईजहाजको टिकटिङ र जापानमा होटल बुकिङको व्यवस्था गरेको थियो । झन्डै ८० हजार नेपाली नागरिक बिभिन्न पेशा ब्याबशाय, विद्यार्थी भिसामा जापानमा बस्दै आएका छन्।